काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित चार न्यायाधीशको राजीनामा माग्नु गलत भएको बताएका छन् ।
आइतबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले ओलीले अदालतमा गरेको सेटिङको असर अहिले देखिएको आरोप लगाए । उनले जोमाथि प्रश्न उठेको छ उसैलाई मात्र कारबाही गर्नुपर्ने भन्दै केपी ओलीले अन्य न्यायाधीशको पनि राजीनामा माग गर्नु गलत भएको बताए ।
उनले अहिले देशमा सहज स्थिति नभएको बताए । उनले भने, ‘संसद राम्रोसँग चल्न सकेन । लोकतान्त्रिक संस्थाहरु एक–एक गरेर कमजोर भइरहेको देखिएको छ । एकातिर अदालतको त्यो अवस्था छ । त्यसैले अहिलेको परिस्थितिलाई मैले सहज रुपमा हेरिरहेको छैन ।’
सबैभन्दा अन्तिम आश्रयस्थलका रुपमा रहेको सर्वोच्च अदालतमा गम्भीर विवाद चलिरहेको पौडेलको भनाइ छ । ‘हाम्रा लागि अदालत सबैभन्दा अन्तिम आश्रयस्थल हो। तर त्यहीँ अहिले गम्भीर विवाद चलिरहेको छ। नेपाल बार एशोसिएसनले धर्ना र विरोध गरिहेको छ । न्यायाधीश इजालसमा बसिराख्नुभएको छैन । त्यसैले मुद्दाको सुनुवाइ भइरहेको छैन,’ उनले भने ।