काठमाडौं । गोरखापत्र दैनिकमा कार्यरत विभिन्न जिल्लाका अस्थायी संवाददातालाई पूर्वसूचनाबिना नै हटाइएको भन्दै समाजवादी प्रेस संगठनले भर्त्सना गरेको छ ।
संगठनका संस्थापक संयोजक शम्भु श्रेष्ठले विज्ञप्ति जारी गर्दै पत्रकारलाई पूर्व जानकारी बिनै हटाइनु श्रमजीवी पत्रकारहरुमाथि अन्यायपूर्ण व्यवहार रहेको बताएका छन् ।
गोरखापत्र जस्तो गरिमामय प्रकाशन संस्थाले निश्चित दलको पृष्ठपोषण गरेको वा नगरेको नाममा श्रमजीवी पत्रकारमाथि गर्ने व्यवहार स्वीकार्य नरहेको विज्ञप्तिमा उल्लेख छ ।
समाजवादी प्रेस संगठनले श्रमजीवी पत्रकारमाथि हुने अन्यायपूर्ण व्यवहारको विरोध गर्ने बताउँदै संयोजक श्रेष्ठले विगत सरकारका असंवैधानिक कदमको मतियारी गर्ने, संविधान तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर पत्रकारलाई प्रताडित गराउने व्यक्तिहरु अहिले पनि सरकारी सञ्चारमाध्यममा हावी रहेको भनेका छन् ।
देशमा पाँच दलीय गठबन्धनको सरकार रहेको र सरकारी स्वामीत्वका सञ्चार संस्थाहरुको विभागीय मन्त्रालयमा प्रधानमन्त्रीकै दलको मन्त्री बहाल रहेको अवस्थामा पत्रकारहरुलाई बिना कारण हटाइनु पाँच दलीय गठबन्धनको मर्म, भावना र हरेक विषयलाई सहमतिका आधारमा निरुपण गर्ने पूर्वसहमतिविपरित रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसमाथि व्यवसायिक समाचारकर्ममा संलग्न, हिजोका परिवर्तन पक्षधर श्रमजीवी पत्रकारहरु नै एउटा सरकारी सञ्चारमाध्यमबाट वहिर्गमित हुनु दुःखद विषय रहेको भन्दै श्रेष्ठले निकालिएका सबै पत्रकारलाई बिनाशर्त काममा फर्काउन अनुरोधसमेत गरेका छन् ।