मोरङ । चौंथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधिका लागि सशस्त्र प्रहरी बल काठमाडौं र हिमालयन शेर्पा क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने भएको छ ।
मंगलबार भएको खेलमा २ गोलको अन्तरले रारा फुटबल क्लब राजारानीलाई पराजित गर्दै सशस्त्रले हिमालयन शेर्पासँग फाइनल भेट पक्का गरेको हो ।
सशस्त्रका आशिष लामाले ७५औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए । ८४औं मिनेटमा नबिन लामाले थप गोल गर्दै अग्रतालाई दोब्बर पारे ।
आजको खेलको म्याम अफ द म्याच सशस्त्रका सनिस श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
आठ टिम सहभागी प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन् । डाँगिहाट युथ क्लबको आयोजनामा जारी गोल्डकप कात्तिक ११ देखि सुरु भएको थियो । उपाधि भिडन्त बुधबार हुनेछ ।