काठमाडौं । लोकमानसिंह कार्की प्रमुख हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम सुन्नेवित्तिकै भ्रष्टाचारीको सातो जान्थ्यो । अख्तियारको डरले पनि घूस लेनदेन गर्ने साहस कमैले गर्थे ।
विशेषगरी मालपोत, यातायात, स्थानीय निकाय जस्ता सिधै रकमको लेनदेन गर्ने भनी बदनाम क्षेत्रहरुमा परिवर्तन आउन थालेका थिए । त्यस्ता कार्यालयमा कर्मचारीहरु घूस लेनदेन गर्न डराउँथे ।
स्टिङ अप्रेशन हुनथालेपछि सिधै घूस माग्नेहरु हच्किन्थे । सिधै घूस लिनु भनेको सिधै अख्तियारको फन्दामा पर्नु जस्तै भइसकेको थियो ।
स्टिङ अप्रेशनविरुद्ध नै योजनावद्ध तरिकाले अदालतमा सेटिङ गरेर मुद्दा दायर भयो । यसमा भ्रष्टाचारीहरुलाई उन्मुक्तिको उद्देश्य निहीत थियो । सर्वोच्च अदालतले स्टिङ अप्रेशनविरुद्ध फैसला सुनायो । जसले विशेष अदालतमा विचाराधीन सयौं मुद्दा प्रभावित भयो ।
स्टिङ अप्रेशनमा परेका आरोपीहरु धमाधम मुद्दा जित्न थाले । अख्तियारले निकै मिहेनत गरी सेवाग्राहीसँग घूस माग्नेहरुको पहिचान गर्दै अप्रेशनमा जनशक्ति र प्रविधिको प्रयोग गरेको थियो ।
स्टिङ अप्रेशनमा आरोपीले धमाधम मुद्दा जित्न थालेपछि अख्तियारका कर्मचारी निरुत्साहित हुनथालेका छन् । स्टिङ अप्रेशन नै हुन छाडेको छ । यसले भ्रष्टाचारीहरु फेरि उत्साही भएका छन् ।
अदालतले स्टिङ अप्रेशनविरुद्ध फैसला गर्दा भ्रष्टाचारीहरुले भोजभत्तेर गरे । सिधै घूस माग्ने र सेवाग्राहीसँग पैसा नलिई काम नगर्ने कर्मचारीहरु उत्साही भएका छन् । यसको असर सरकारको माथिल्लो निकायसम्म परेको छ । कर्मचारीतन्त्रमा मालदार ठाउँमा पैसा बुझाएर सरुवा हुने र घूस खाने प्रवृत्ति बढेर गएको छ । पैसा कमाउने कर्मचारीको पहुँच र प्रभाव बढ्न गई सिधासादा कर्मचारीको हैसियत नै छैन जस्तो व्यवहार हुन थालेको छ ।
यसले इमान्दार कर्मचारीहरुमा वितृष्णा बढाउने अवस्था पनि पैदा गरेको छ । माथिका हाकिमले पनि तलका कर्मचारीलाई घूस लिएर भएपनि रकम माथिसम्म बुझाउन प्रेरित गर्न थालेका छन् । कर्मचारीतन्त्रमा नकारात्मक अभ्यासको विकास भएर गएको छ । यसको पछाडि अख्तियारको निष्कृयता र निरिहता पनि कारण बनेको छ ।
स्टिङ अप्रेशनले भ्रष्टाचारलाई निकै घटाएको थियो । सर्वसाधारण सेवाग्राही विना घूस सेवा लिन थालिसकेका थिए । विचौलिया प्रवृत्ति कमजोर हुँदै गएको थियो । स्टिङ अप्रेसनविरुद्ध सर्वोच्चको फैसलाले फेरि पुरानै अवस्थामा मालदार अड्डाहरु पुगेका छन् । यसले समाजमा नराम्रो बेथिति विकास हुन थालेको छ । समाजको भाइरस भ्रष्टाचार फैलन थालेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग भ्रष्टाचारीहरुको डर मर्न थालेको छ । उनीहरु अख्तियार नै निरिह भएको देखेर उत्साही भएका छन् । भ्रष्टाचारका आरोपीहरु मुद्दा जित्दै टाउको उठाउँदै समाजमा फूर्तिसाथ हिंड्न थालेका छन् । यो सभ्य समाज निर्माणका दिशामा नकारात्मक प्रभाव हो ।
भ्रष्टाचार गरेकाहरु समाजमा टिक्न बस्न नसक्ने जापान, कोरिया र यूरोपका विकसित देशहरुबारे हामीले सुन्ने गरेका छौं । राष्ट्रपति र प्रधानमन्त्री भइसकेका व्यक्ति भ्रष्टाचारको आरोपमा पक्राउ परेका घटना छन् । चीनमा भ्रष्टाचारीमाथि फाँसीसम्मको सजाय छ । कतिपय देशमा भ्रष्टाचारको अभियोग लागेपछि प्रहरीले पक्राउ गर्न नपुग्दै आत्महत्या सम्म भएका घटना छन् । उपल्लो तहमा पुगेकाहरुसम्मले आत्महत्या गरेको घटना जापान र कोरियामा छ ।
नेपालमा पनि भ्रष्टाचारको आरोप लागेपछि सामाजिक प्रतिष्ठा गुम्ने परिपाटी विकास हुँदै गएको थियो । पैसा नै सबथोक हो र सामाजिक प्रतिष्ठाको आधार नै जसरी पनि पैसा कमाउनुपर्छ भन्ने प्रवृत्तिले जरा गाड्दै गएको थियो । तर, अख्तियारको भ्रष्टाचारीवरुद्धको आक्रामक शैलीले त्यो जरा ओखल्न थाल्यो । समाजमा इमान्दार व्यक्तिको प्रतिष्ठा बढ्न थाल्यो । तर, अख्तियारले पछिल्लो समय भ्रष्टाचारीविरुद्ध आक्रामक कदम चाल्न सकेको छैन ।
स्टिङ अप्रेशन भ्रष्टाचारीविरुद्ध अख्तियारको सबैभन्दा सफल र सशक्त अस्त्र थियो । त्यो अस्त्र नै निस्तेज पार्ने कदम चालियो । अहिले अख्तियार सुतेको जस्तै भएको छ । जसको भ्रष्टाचारविरुद्धको अभियानमा दूरगामी नकारात्मक असर पर्न थालेको छ ।
देशमा भ्रष्टाचार मौलाउन थालेको छ । घूस लिने र दिनेहरुले व्यक्तिगत फाइदा लिन थालेका छन् । सर्वसाधारण कमजोर बनाइएका छन् । समाजमा जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मान्यताले फेरि जरा गाड्न थालेको छ । मूल्य, मान्यता र नैतिकतामाथि उहिल्यै प्रहार भइसक्दा कानुनको डर हुन थालिसकेको थियो । अब त्यो पनि रहेन । जताततै भ्रष्टाचार मौलाउन थालेको छ । अहिले मालपोत, नापी, भन्सार, स्थानीय निकायलगायत मालदार अड्डाहरुमा भ्रष्टाचार बढेको छ ।
कर्मचारीहरु विनाडरभर विचौलियामार्फत् घूस लिन थालेका छन् । त्यस्ता अड्डामा जान मोटो रकम बुझाउन तयार हुन थालेका छन् । यसको कारण अख्तियारको गतिलो अस्त्रमाथि योजनावद्ध प्रहार नै कारण हो ।
स्टिङ अप्रेशनलाई अख्तियारले नै घूस दिन मिल्दैन भन्ने जस्तो गरियो । तर, भ्रष्टाचारी पहिचान गर्ने यो गतिलो अस्त्र थियो । यसबाट देशका कुना काप्चामा रहेका भ्रष्टाचारीहरुको मुकुण्डो उत्रिएको थियो । उनीहरु धमाधम मुद्दा जित्दै अदालतबाट विजयी जसरी माला लगाएर समाजमा फर्कन थालेका छन् । भ्रष्टाचारको आरोप लागेकाहरु अदालतमा मुद्दा जितेर विजयी योद्धा बनेर आफ्नो कार्यालयमा फर्कन थालेपछि समाजमा नकारात्मक सन्देशहरु जान थालेको छ ।
भ्रष्टाचार गरेमा अदालतबाट मुद्दा जितिहालिन्छ भन्दै विना डर घूस लेनदेन हुनथालेको छ । अख्तियारलाई कमजोर पार्ने यो कदमको पुनः समीक्षा हुनुपर्छ । अख्तियार भन्नेवित्तिकै भ्रष्टाचारीको सातो जानुपर्छ । जबसम्म त्यो हुँदैन तबसम्म भ्रष्टाचार रोकिदैन । भ्रष्टाचार गर्ने आँट कसैलाई दिनुहुँदैन । जसले गर्छ उसले उन्मुक्ति पाउनुहुँदैन । उसले कानुनी रुपमा सजाय पाउनुपर्छ र समाजमा बहिष्कृत गरिनुपर्छ । तबमात्र भ्रष्टाचार रोकिन्छ ।