काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरुसँग टक्कर लिन खोज्नेहरु समाप्त हुने बताएका छन् ।
आज भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले आफूहरुसँग टक्कर लिन खोज्दा कर्णाली प्रदेशमा नेकपा एमाले उठ्नै नसक्ने हालतमा पुगेको बताए ।
पूर्वप्रधानमन्त्री नेपालले हिन्दी लवजमा भने, ‘जो हमसे टकराएगा, चुरचुर होजाएगा ।’ नेपालले कर्णाली प्रदेशमा नेकपा एमालेको हालत उठ्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको र प्रदेश नम्बर दुईमा एमालेभन्दा धेरै अगाडि रहेको माधव नेपालको भनाई छ । ‘कर्णाली प्रदेशमा हामीले टक्कर दिएर अर्को पार्टी उठ्नै नसक्ने गरी एमालेको हालत खतम छ’, उनले भने ।
त्यस्तै एक नम्बर प्रदेश र बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीको मुख्यमन्त्री बनेको बताउँदै उनले भने, ‘त्यसो हुनाले हामी भन्छौं हामीसँग टक्कर लिने कुरा सोच्यो भने तराईतिर भनिन्छ- जो हमसे टकराएगा चुरचुर होजाएगा, ख्याल गर ।’
आगामी निर्वाचनबारे विभिन्न ठाउँको आकलन गरिरहेको बताउँदै नेपालले भने, ‘आगामी चुनावमा एकीकृत समाजवादी पार्टीको विजय अभियान अघि बढ्ने छ । हामी जित्ने छौं । हामीसँग इर्ष्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’
‘गठबन्धनलाई कसैले भत्काउन सक्दैन, छिटै चुनाव हुनेवाला छैन’, उनले भने । पूर्वप्रधानमन्त्री नेपालले संघीय संसदको चुनाव समयमै हुने र पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्नेसमेत बताए ।