Logo
Logo

ट्राफिकमा यसरी हुन्छ संगठित भ्रष्टाचार


89.6k
Shares


हेटौंडा । प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा भएको संगठित भ्रष्टाचारमा दुई एसपी कारबाहीमा परे । तर, यस्तो भ्रष्टाचार देशका अन्य ट्राफिक कार्यालयमा समेत चल्दै आएको पाइएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा यस्तै धन्दा चल्दै आएको छ । इन्सपेक्टर प्रकाश पाण्डेको नेतृत्वमा संगठित भ्रष्टाचार बढेको छ ।
इन्सपेक्टर पाण्डेले पोष्टहरुमा सरुवा गर्न आफ्नै प्रहरीसँग मासिक पैसा उठाउने गरेको स्रोत बताउँछ । ट्राफिक पोष्टमा सरुवा हुन मासिक पाँच देखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् । हवल्दार मेजर नवलकिशोर साहमार्फत यसरी पैसा असुली हुने गरेको छ । पैसा बुझाएकै दिन पोष्टमा सरुवा हुने र नबुझाए तत्काल नै हटाउने गरिएको छ । महिनौंदेखि ट्राफिकमा यस्तो संगठित रुपमा भ्रष्टाचार हुँदै आएको हो ।


साथै, लाइसेन्सको ट्रायल परीक्षामा पनि सेटिङभित्रका निश्चित प्रहरीलाई मात्र पठाउने गरिएको छ । सेटिङमा फेल हुनेलाई समेत पास गराउने र भत्ता समेत दुरुपयोग हुने गरेको छ । जून सेटिङमा असई श्री कुमार थापा, हवल्दार नवल किशोर साह, हवल्दार सुधीर गिरी छन् । साथै इन्सपेक्टर पाण्डेको भान्छे कृष्णबहादुर घर्ती तथा उनका चालक बम बहादुर कार्कीलाई पनि ट्रायल परीक्षामा पठाउने गर्दछन् ।


पैसा नबुझाउनेहरुलाई इन्सपेक्टर पाण्डे र हवल्दार मेजर साहले कठिन हुने ठाउँमा डिउटीमा खटाउने गरेका छन् । स्रोतका अनुसार ट्राफिकको संगठित भ्रष्टाचारबारे प्रदेश प्रहरी कार्यालयमा समेत उजुरी परिसकेको छ । तर, प्रदेश डिआइजी प्रकाशजंग कार्कीलाई समेत इन्सपेक्टर पाण्डेले टेर्ने गरेका छैनन् ।

यस समाचारको खण्डन गर्दै पाण्डेले आफ्नो १४ महिने कार्यकालमा ट्राफिकमा भएको बेतिथि सुधार गरेको र कार्यकाल पूरा गरेर सरुवा हुने बेलामा आफ्नो चरित्र हत्या गर्न कसैले दृष्टिलाई गलत समाचार दिएको बताए ।

उनले आफू कार्यरत रहँदा वार्षिक २ करोड ७४ लाख राजस्व उठेको बताए । जबकि, अघिल्लो वर्ष एक करोड २४ लाख मात्र राजस्व उठेको थियो । ट्रायलमा ६-७ ठाउँमा प्रतिनिधि उपस्थित हुने भएकाले कसैले पनि घुस खाएको आधारमा पास गर्न नसक्ने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्