Logo
Logo
एमाले १०औं महाधिवेशन

कही सर्वसम्मत, कही निर्वाचन


1.6k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) १०औं महाधिवेशनका लागि आज देशैभरी महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले देशैभरी सर्वसम्मत प्रतिनिधि छनौट गर्ने काम भएको बताए । केही ठाउँ बाहेक सबै ठाउँमा सर्वसम्मत नै महाधिवेशन प्रतिनिधि छनौट भएको उनले बताए ।

‘देशैभरी एकैदिन महाधिवेशन प्रतिनिधि छनौट भएको छ । अधिकांश ठाउँमा सर्वसम्मत नै प्रतिनिधि छनौट भएको सूचना आएको छ’ तामाङले भने, ‘केही ठाउँमा निर्वाचनमा जानुपर्ने भएको छ । आइतबारसम्ममा सबै ठाउँको रिपोर्ट आउँछ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न आह्वान गरेका छन् । अध्यक्ष ओलीले शनिवार सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास भएकोले उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास भएको सन्देशमा उल्लेख गरेका छन् ।

दलहरूका बीचमा प्रतिस्पर्धा हुनु लोकतान्त्रि अभ्यास भएपनि त्यो स्वस्थ हुनुपर्ने उनले उल्लेख गरेका छन् । दलभित्रआपसी समझदारी सुदृढ एकताको आधार रहेको अध्यक्ष ओलीको भनाइ छ ।

१०औं महाधिवेशनमा १९ सय ९९ प्रतिनिधि सहभागी हुँदैछन् । दुई ६३ जना पदेश प्रतिनिधि रहेका छन् । १७ सय ३६ प्रतिनिधि बिभिन्न ठाउँबाट निर्वाचित भएर आउनुपर्ने तामाङले बताए । केन्द्रीय कमिटीका सबै र अनुशासन आयोग बाहेक अन्य ठाउँमा निर्वाचित हुनुपर्ने हुन्छ ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनौटका लागि इलेक्ट्रोनिक भोटिङ मेशिन (ई–भोटिङ)को प्रयोग गर्ने तयारी भइरहेको छ । महाधिवेशनमा एकदिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ ।

दशौं महाधिवेशन मुल व्यवस्थापन समितिका सदस्य काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेशिनको प्रयोग गरी एकै दिनमा मतदान र परिणाम सार्वजनिक गर्ने गरी सय भन्दा बढी मेशिनको व्यवस्थापन गरिँदैछ ।

आउँदो १०, ११ र १२ मंसिरमा चितवनमा महाधिवेशन हँुदैछ । ललितपुरको गोदावरीमा हालै सम्पन्न भएको एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरि २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी गर्ने व्यवस्थामा विधान छ ।

एमालेले १० मंसिरमा नारायणी नदीको किरानामा उद्घाटन र सौराहामा नेतृत्व छनोटका लागि बन्दसत्र सञ्चालन गर्ने तयारी गरेको छ । ११ गते मनोनयन र प्रतिनिधिहरुलाई इभिएम मतदान गर्न अभ्यास र १२ गते मतदान हुने मुल व्यवस्थापन समितिका सदस्य एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् ।

प्रतिक्रिया दिनुहोस्