पोखरा । पोखराका हाइप्रोफाइल जुवाडे पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१२ चापानीस्थित तास खेलिरहेको अवस्थामा कास्की प्रहरीले ६ जुवाडे पक्राउ गरेको हो । नवीन गौचनको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी १८ लाख ७५ हजार ५ सय ३० रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ । उनीहरूलाई शनिबार बिहान अन्दाजी २ बजे पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका–३ घर भई हाल पोखरा–१२ बस्ने ३२ वर्षीय नवीन गौचन, पोखरा–१२ का ४४ वर्षीय काजी गुरुङ, सोही ठाउँका ३८ वर्षीय सूर्य गुरुङ, दैलेख नौमुले गाउँपालिका–८ घर भई हाल पोखरा–२६ बस्ने ३५ वर्षीय खम्बसिंह राना, कास्कीको मोदी गाउँपालिका–१० घर भई हाल पोखरा–१३ बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा महानगर–१९ घर भई हाल वडा नम्बर १९ बस्ने श्याम श्रेष्ठ छन् । प्रहरीबाट जोगिन उनीहरुले सिसिक्यामेरा समेत राखेका थिए ।
उनीहरूलाई सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने शिर्षकको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।