Logo
Logo

गाउँको मुहार फेर्दै बेलडाँडीका महिला


693
Shares

कञ्चनपुर । महिलाले घरको चुलोचौका र मेलापात गर्नुपर्छ । घरको काम गरे पुग्छ भन्ने धारणालाई शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका महिलाले अन्त्य गरिदिएका छन् । दशकअघिदेखि समूहमा आवद्ध भई बचत गर्न थालेका उनीहरुले कलस महिला कृषि सहकारी संस्था सञ्चालन गरी सङ्गठितरूपमा अगाडि बढ्न थालेका छन् ।

सहकारीको सञ्चालक समितिदेखि कर्मचारीसम्म महिला छन् । सहकारीमा गाउँका ८३ महिला आवद्ध छन् । मासिकरूपमा रकम बचत गरी आयआर्जनका कार्यक्रममा लगानी गरी अर्थोपार्जन गर्ने कार्यदेखि समाज सुधारका कार्यमा महिलाले अग्रस्थानमा रहेर कार्य गर्दै आएका छन् । विकास निर्माणका काममा श्रमदान गर्ने र समाजमा देखिएका विकृति– विसङ्गतिविरुद्ध सचेतना छर्ने कार्यमा एकापसमा छलफल गरी महिलाहरूले सहभागिता जनाउँदै आएका छन् ।

‘महिलालाई पहिला घरभित्रको भूमिकामै सीमित राखिँदै आएको थियो’, सहकारीका अध्यक्ष मीनादेवी डगौराले भने, ‘अधिकांश समय घरकै काममा व्यस्त हुँदा समाजमा महिलाको भूमिका नगन्य हुन्थ्यो । पुरातन सोचले ग्रसित मान्यतालाई तोडदै गाउँमै समूह बनायौँ । समूह बनाउँदा महिलाले के नै गर्न सक्लान् भनेर नानाथरी कुरा सुन्नु पर्दथ्यो । त्यसको बेवास्ता गर्दै अगाडि बढ्दै गयौँ ।’

उनले भने , ‘पालैपालो बोल्ने नियम बनाई समाजका अगाडि उभिन सक्ने भयौँ । बोल्न सक्ने भयौँ । त्यसपछि अधिकारका लागि सङ्गठित भई समाजमा नेतृत्वदायी भूमिका खोज्न थाल्यौँ । त्यसका लागि नाइनास्ती गर्ने कार्य हुन्थ्यो । एकजुट भएर आवाज बुलन्द गर्दा अहिले महिलाले पनि समाजका लागि केही गर्न सक्छन् । त्यसका लागि भूमिका दिनुपर्छ भन्ने भावना पैदा भएको छ ।’

विद्यालय व्यवस्थापन समिति र सामुदायिक वनको उपभोक्ता समितिमा सहभागिता गराउन थालिएको उनले बताए । गाउँको विकासका लागि आउने बजेटका लागि महिला वडा र नगरपालिका कार्यालयसम्म गएर वकालत गर्दै आएका छन् । गाउँमा हुने सांस्कृतिक, सामाजिक र विकास निर्माणमा अहिले महिला नै अग्रस्थानमा देखिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्