Logo
Logo

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकलाको रजत वर्षका अवसरमा आठ स्रष्टा सम्मानित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको आफ्नो रजत वर्षका अवसरमा गत बिहीबार नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ आठजना स्रष्टाहरूलाई सम्मान गरेको छ । यसपटक गङ्गादेवी चौधरी स्मृतिसम्मानबाट वरिष्ठ आख्यानकार पद्मावती सिंह, इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट अग्रज साहित्यिक अनुसन्धाता मोदनाथ प्रश्रित, सरस्वती गद्यसम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारी, नारायणगोपाल सङ्गीतसम्मानबाट लोक–आधुनिक सङ्गीतका विशिष्ट साधक गणेश रसिक, अरनिको ललितकलासम्मानबाट नेपाली चित्रकलाक्षेत्रका विशिष्ट साधक किरण मानन्धर, बालकृष्ण सम रङ्गसम्मानबाट रङ्गमञ्च क्षेत्रकी विशिष्ठ साधक भुवन थापा चन्द, नेपाल नवप्रतिभासम्मानबाट फरक क्षमता भएकी सृष्टि केसी र गोपालप्रसाद रिमाल काव्यसम्मानबाट वरिष्ठ कवि दिनेश अधिकारीलाई सम्मानित गरिएको छ ।

गत वर्षसम्म यस साहित्यकला मन्दिरले सातवटा सम्मानहरू प्रदान गर्दै आएकोमा यसपटकदेखि काव्यक्षेत्रका लागि मात्र प्रदान गरिने गरी ‘गोपालप्रसाद रिमाल काव्यसम्मान’ स्थापना गरियो र पहिलोपटक वरिष्ठ कवि दिनेश अधिकारीलाई यो सम्मान प्रदान गरिएको हो । सम्मानित स्रस्टाहरूलाई प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद्, शताब्दी पुरुष श्री सत्यमाहन जोशीले दोसल्ला ओढाएर सम्मान प्रदान गर्नुभएको थियो । सम्मानमा ताम्रपत्रसहित नगद पनि समावेश छ । गङगादेवी चौधरी स्मृतिसम्मानमा नगद एक लाख एक रुपियाँ र अन्य सबै सम्मानमा नगद एकाउन्न हजार एक रुपियाँ रहेको छ ।

प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तव्य प्रकट गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले भन्नुभयोे– ‘विगत २५ वर्षमा राष्ट्र–निर्माणमा यस संस्थाले जुन योगदान पु¥याएको छ, त्यो अत्यन्त महत्वपूर्ण र अनुकरणीय पनि छ । यसका गतिविधिहरूले भावी पुस्तालाई समेत प्रेरणा दिएको छ ।’ उहाँले विभिन्न उदाहरणहरू दिँदै भन्नुभयो– ‘भौतिक विकासले मात्र देश सम्पन्न हुन सक्तैन, यसका लागि देश सिर्जनाले पनि समृद्ध हुनुपर्छ । यस भूमिकामा साहित्यकला मन्दिर निजी स्तरमा स्थापित भएर पनि यसले राष्ट्रले गौरव गर्ने कार्यहरू गरिरहेछ । त्यसको एउटा ज्वलन्त उदाहरण हो, स्रष्टाहरूको सम्मान गर्ने यस संस्थाको अविराम कार्य ।’

समारोहका सभापति एवम् यस संस्थाका अध्यक्ष बसन्त चौधरीले स्वागत मन्तव्य प्रकट गर्ने क्रममा भन्नुभयो– ‘सिर्जनाका अनेक रूप, अनेक विधा हुन्छन् । तर, त्यसको मूलमा भने एउटै तत्वले वास गरेको हुन्छ— भाव र त्यसको उद्दीपन । कुनै पनि अभिव्यक्तिअघि यही प्रक्रिया चल्दछ । त्यसपछि अभिव्यक्ति आउँदछ, कहिले त्यो सशक्त बादलको उर्लाइका साथ, कहिले विरही यक्षको सन्देश वाहक बनेर, कहिले शीतलता र हरियालीको वर्षा गर्ने आकाङ्क्षाको दिव्य स्वरूप बनेर । किनकिन म बादल र अभिव्यक्तिको प्रकृतिमा धेरै समानता देख्दछु । त्यसकारण कामना गर्दछु, त्यो बादलले हामीलाई पनि सिञ्चित गरोस्, झन् अभिव्यक्त हुने शक्ति देओस् र हाम्रो अढाई दशकको यात्रालाई आगामी दिनहरूमा समेत यात्रा गर्ने ऊर्जा प्रदान गरोस् ।’ उहाँले अढाई दशकअघि गरेका वाचा पूरा गर्ने प्रण गदै भन्नुभयो– ‘विगतमा हामीले केही काम थाल्ने अठोट गरेका थियौं । तीमध्ये केही काम राम्ररी सम्पन्न भए, केही सुरूवात नै हुन सकेनन् । अबको हाम्रो यात्रा तिनै पूरा हुन पर्खिरहेका बाचाहरूबाहेक केही नयाँ कामको थालनी गर्ने अठोटप्रति समर्पित रहने छन् भन्ने विश्वास दिलाउन चाहन्छु ।’

सम्मानित स्रस्टाहरूको तर्फबाट बोल्दै कवि दिनेश अधिकारीले भन्नुभयो– ‘कवि एवम् परिवर्तनका संवाहक गोपालप्रसाद रिमालको विशिष्ठ योगदानको सम्मान गर्दै पहिलोपटक उनको नाममा काव्यसम्मानको स्थापना गरेर साहित्यकला मन्दिरले साहित्यजगत्लाई नै तिरिनसक्नु गुण लगाएको छ । उनको नाममा स्थापित यो काव्यसम्मान पहिलो वर्षमै ग्रहण गर्ने मलाई अवसर प्राप्त भएकोमा यसलाई मैले मेरो कविपुस्ताले पाएको एउटा महत्वपुर्ण सामाजिक स्वीकति हो भन्ने ठानको छु । एउटा माध्यम हुने अवस र पाएको छु ।’

उक्त रजतवर्ष समारोहको अन्त्यमा साहित्यकला मन्दिरका उपाध्यक्ष तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति अभिनेता हरिहर शर्माले स्वागत मन्तब्य प्रकट गर्ने क्रममा भन्नुभयो– निजी स्तरमा स्थापित यो एक मात्र एउटा यस्तो संस्था हो, जसका कारण नेपाली साहित्य, कला र संस्कृतिका क्षेत्रमा विगत अढाई दशकदेखि उल्लेखनीय कार्य हुँदै आएका छन् । संस्थाका अध्यक्ष बसन्त चौधरी स्वयम् कवि–साहित्यकार भएका कारण मात्र यो सम्भव भएको हो ।’ उहाँले अगाडि भन्नुभयो– ‘हाम्रा सद्भाव, सुभेच्छा सदा सर्जक र सिर्जनाका समुन्नतिप्रति केन्द्रित छ तसर्थ यो अन्य संस्थाभन्दा फरक र मौलिक छ ।’

प्रतिक्रिया दिनुहोस्