काठमाडौं । नेपाल प्रहरीमा आर्थिक चलखेलका आधारमा नीति बिगार्न चलखेल जारी नै छ । प्रधानमन्त्री र गृहमन्त्री निकट व्यक्तिहरु यसमा संलग्न छन् ।
गृहमन्त्री बालकृष्ण खाणका भाई रामजी खाण यतीबेला रुपन्देहीका एसपी फेर्ने अभियानमा लागेका छन् । अहिलेका एसपी मनोज केसीले असहयोग गरेको भन्दै उनलाई ६ महिनामै हटाउन लबिइङ भइरहेको छ । रुपन्देहीमा एसपी नवराज अधिकारीलाई लैजान उनले गृहमन्त्रीलाई प्रस्ताव गरेको स्रोत बताउँछ ।
एसपी अधिकारी केही महिनाअघिसम्म कपिलवस्तुमा कार्यरत थिए । कपिलवस्तुमै हुँदा उनको रामजी खाणसँग दोस्ती भएको थियो । उनलाई रुपन्देही लगेर आफ्ना धन्दा चलाउन एसपी केसीलाई हटाउने चलखेल भइरहेको स्रोत बताउँछ । तर, गृह मन्त्रालयले कुनै गल्ती समाएर मात्र ६ महिनामा हटाउन सकिने जवाफ दिएको छ । एसपी अधिकारी हाल बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत छन् ।
१० महिना पुगेका अन्य केही जिल्लाका एसपीलाई पनि हटाउन एक समूह लागिपरेको छ । अत्याधिक दबाबका कारण एसपीको नियमित सरुवा समेत हुन सकेको छैन । यही हप्ता सरुवाको तयारी प्रहरी प्रधान कार्यालयले गरिरहेको छ ।
उता एसपी अधिकारीले भने समाचारको खण्डन गरेका छन् । समाचार तथ्यहिन रहेको र आफूमाथि लागेका आरोप गलत भएको उनको भनाई छ ।