Logo
Logo

सिभिल सेभिङको सम्पत्ति लिलाम गर्दै सञ्चय कोष


3.4k
Shares

काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङको नाममा ३५ दिने सूचना जारी गरेको छ । तामाङविरुद्ध मंसिर ६ गते सोमबार कोषले कर्जा चुक्ता गनको लागि ३५ दिने सूचना जारी गरेको हो । सिभिल सेभिङ एण्ड क्रेडिटमा बचतकर्ताहरुको निक्षेप रकम घोटालाको अभियोगमा असोज १८ गते केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

कोषका ऋणी सिभिल इस्टेट्स प्रालिले लिएको ऋण चुक्ता गर्न आउनको लागि कोषले उक्त कम्पनीका सञ्चालक समेत रहेका तामाङको नाउँमा ३५ दिने सूचना जारी गरेको हो । ‘तपाईं ऋणीले आफ्नो कारोबार सञ्चालनार्थ कोषबाट लिनुभएको ऋण रकमको भाखा नाघेको ऋणको सावाँ ब्याज रकम नतिर्नु, नबुुझाउनुभएकोमा कोषले पटक–पटक तरताकेता गरी भुक्तानीको लागि म्याद दिँदा समेत भुक्तानी गर्न नआएकोमा यो सूचना प्रकाशित गरिएको हो ।’ कोषले जारी गरेको सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित मितिले ३५ दिनभित्र कोषमा सम्पर्क गरी तिर्नुु–बुझाउनुपर्ने सम्पूर्ण रकम, सोमा लाग्ने ब्याज, हर्जना तथा अन्य रकम समेत बुझाउन यो सूचना जारी गरिएको हो ।’

कोषले सिभिल इस्टेट्स कम्पनीका सञ्चालकहरुमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया रहेको उल्लेख गरेको छ । उक्त ऋण जमानी दिने व्यक्तिहरुमा भने इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ, प्रविण मुखिया, लालकाजी गुुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान र सुमन नन्दन वैद्य रहेका छन् । ऋणको धितोको रुपमा भने काठमाडौंको महानगरपालिका सुन्धारास्थित छ रोपनी जग्गा र सो निर्माण भएको ८२ हजार ९५ वर्गफिटको पसल कबोलहरु राखिएका छन् ।

सीआईबीले सिभिल सेभिङ एण्ड क्रेडिटमा बचतकर्ताहरुको निक्षेप रकम घोटाला गरेको प्रकरणमा असोज १८ गते तामाङसहित अन्य १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका तामाङसहित १२ जनाको हकमा अहिले मुुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान भइरहेको छ । पक्राउ परेका तामाङसहित १२ जना व्यक्तिमाथि पछिल्लोपटक संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धान चौथो पटक १० दिनको लागि म्याद थप भएको छ ।

प्रतिक्रिया दिनुहोस्