Logo
Logo
एमालेको १०औं महाधिवेशन

माधव नेपालको कुनै पार्टी नभएकाले निम्ता गरेनौं : ओली


2.5k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पार्टीगत रुपमा निम्ता गर्न नमिलेकाले निम्ता नगरिएको बताएका छन् ।

आज काठमाडौं एमाले प्रचार विभागले आयोजना गरेको सम्पदाकसंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, ‘माधव कुमार नेपाललाई पार्टीको रुपमा निम्ता गर्न मिलेन । किनभने हामीले उहाँलाई साउन २५ गते अनुशासनहीन क्रियाकलाप, लोकतन्त्रमा नसुहाउने पार्टी फुटाउने काम गरेको र त्यो देशको अहितमा रहेकाले कारवाही गरेर निस्कासन गरिएको थियो ।’

सो कुराको जानकारी निर्वाचन आयोग र संसद सचिवालयमा जानकारी गराइएको अवस्थामा भदौ २ गते अवैध रुपमा पार्टी गठन गरेकाले नेपाललाई बोलाउन जरुरी नभएको उनले बताए । उनले माधव नेपालको कुनै पार्टी नभएको पनि जिकिर गरेका छन् ।

अध्यक्ष ओलीले पार्टीको १०औं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने दावी गरेका छन् । महाधिवेशनमा १०÷२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारी साधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने ठट्यौली पारामा उनले बताए ।

एमालेले उद्घाटन सत्रमा एमालेले पाँच लाख मान्छे सहभागि गराउने तयारी गरिरहेको छ । तर अध्यक्ष ओलीले १०÷२० लाख मान्छे जुटाउन सकिने दाबी गरेका छन् ।

‘नेपालका सवारी साधनले बोक्न भ्याउने जति जनसमुदाय सहभागी हुनेछन्, ठुला सवारी साधन, लामो दुरीका सवारी साधनले बोक्न सक्नेसम्मको मानिस महाधिवेशनमा सहभागी हुन्छन्’ ओलीले भने, ‘कति छ नेपालका बसहरुको क्यापेसिटी, एक पटकमा उनीहरुले कति बोक्न सक्छन् त्यस अनुसार सहभागिता हुन्छ । न्यूनतम् ५ लाख उपस्थित हुने अपेक्षा गरेका छौं ।’

कोभिडको समय भएकाले धेरै ठूलो संख्यामा विदेशी प्रतिनिधि भने महाधिवेशनमा सहभागी नहुने उनले बताए । देश बनाउने योजना तथा कार्यक्रम विधान महाधिवेशनबाट पारित भइसकेका कारण ती नीतिको कार्यान्वयनका लागि कस्तो नेतृत्वको टीम निर्माण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा बन्दसत्र केन्द्रित रहने उनले बताए । दशौं महाधिवेशनले मुख्य रुपमा पार्टीको नेतृत्व निर्माण गर्ने उनको भनाइ थियो ।

एमालेमा विभिन्न पार्टी तथा समूहबाट आएकाले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा भईरहेका बेला अध्यक्ष ओलीले उम्मेदवारी फिर्ता लिएर भए पनि सर्वसम्मत पदाधिकारी निर्वाचित हुने दाबी गरेका छन् । तर नेताहरुले आफ्नो रुचि अनुसार नै अगाडि बढने हो भने निर्वाचन आयोगले प्रक्रिया अगाडी बढाउँछ ।

लोकतन्त्रमा सर्वसम्मत नेतृत्व चयन गर्नु पनि एक विधि भएको बताउँदै उनले सर्वसम्मत हुन नसकेको अवस्थामा आन्तरिक लोकतन्त्र अनुसार प्रतिपस्पर्धाबाटै अगाडी बढ्ने उनले बताए ।

एमालेको १०औं महाधिवेशनमा मंसिर १०, ११ र १२ गते चितवनमा हुदैछ । एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ जना सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्