जतिबेला राजनीतिक दलहरू प्रतिबन्धित थिए । जतिबेला राजनीतिक दलका नेताहरू कोही भूमिगत, कोही निर्वासित थिए, जतिबेला जेलमा भएका राजबन्दीहरूलाई जेल सार्ने बहानामा सुखानी र छिन्ताङका जंगलमा गोली हानेर मारियो । जतिबेला राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार गरियो । जतिबेला सिंहदरबारभित्र र बाहिर बम विस्फोट भयो । त्यतिबेला राजनीतिक दलका सूचना र विचार प्रवाह गर्ने पत्रकारहरूले कस्तो परिस्थितिको सामना गरे होलान् भन्ने कुरा आज सम्झँदा जिउ नै सिरिङ्ग भएर आउँछ ।
पञ्चायती निरंकुश तानाशाहीविरुद्ध कलम चलाउँदा कति पत्रिका बन्द भए । कति पत्रकारहरू जेल परे । कति पत्रकारहरूलाई प्रहरीले यातना दियो । कति पत्रकारहरूले घर, खेत गुमाए । कति पत्रकारहरू बेपत्ता पारिए, त्यो घटना लेख्दा र सम्झँदा सपनाजस्तो लाग्छ । किनभने, त्यतिबेलाका पत्रकारहरू ज्यान हत्केलामा राखेर कलम चलाउँथे । त्यो कलमले पञ्चायती निरंकुशताका विरुद्ध आगो ओकल्थे । निरंकुश शासकहरूको मुटुमा ढ्यांग्रो ठोक्थ्यो ।
त्यही क्रममा दृष्टि साप्ताहिकमाथि पनि पटक–पटक दमन भयो । ०४६ सालको जनआन्दोलनको क्रममा दृष्टिमा कार्यरत पत्रकारहरू जेल परे । तर, पनि दृष्टि आफ्नो ‘मिसन’मा कहिल्यै चुकेन । ‘दृष्टि’ले आफ्नो कलमलाई अझ तेज बनाउँदै गयो । तत्कालीन नेकपा (माले)को अघोषित मुखपत्रका रुपमा पार्टीको सूचना र विचारलाई गाउँ गाउँसम्म पुर्यायो । देशभरका क्रान्तिकारीहरूलाई पञ्चायती व्यवस्थाविरुद्ध गोलबन्द गर्दै लग्यो । निरंकुश पञ्चायती व्यवस्था ढाल्न पत्रकारिताको मोर्चाबाट संयुक्त जनआन्दोलनको अगुवाइ गर्यो।
जीवित इतिहासका रुपमा ‘दृष्टि’ पाठकहरूमाझ इमान्दारपूर्वक ३८ वर्षदेखि उभिएको छ । उभिने छ । राजनीतिक दलको ‘मिसन’ सकिएको होला, दृष्टिको मिसन सकिएको छैन । कम्युनिष्ट आन्दोलनमा झांगिएको झारपात उखेल्नुपर्छ । विकृति र विसंगतिविरुद्ध लड्नुपर्छ । कम्युनिष्टको आवरणमा देश लुट्नेहरुलाई जेल कोच्नुपर्छ । त्यसका लागि दृष्टिको कलमले राजनीतिक दललाई सधैँ खबरदारी गरिरहने छ ।
‘दृष्टि’ एउटा पत्रिका मात्रै थिएन । दृष्टि विचार पनि थियो । पार्टीले बोकेको विचार नै ‘दृष्टि’को मार्गनिर्देशक सिद्धान्त थियो । त्यो सिद्धान्तमा ‘दृष्टि’ आज पनि अडिग छ, तर, पार्टी त्यो सिद्धान्तबाट विचलित भएको छ । कम्युनिष्ट आन्दोलनको इतिहासमै दुईतिहाइ बहुमतसहितको सरकार घर न घाट बनेको छ । एउटा व्यक्तिको ‘सनक’का कारण सिंगो कम्युनिष्ट आन्दोलन धरासायी हुने अवस्थामा पुगेको छ । यो सिंगो स्वाभिमानी नेपाली जनताको लागि चिन्ताको विषय हो ।
आज हामी जुन जगमा उभिएका छौं । त्यो जग निर्माणमा हजारौं सहिदहरूले बलिदानी दिएका छन् । लाखौं नेता कार्यकर्ताले आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका छन् । ‘दृष्टि’ ०६२–०६३ सालको जनआन्दोलनको साक्षी र अगुवाइ पनि हो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा दृष्टिले पनि अहम् भूमिका खेलेको छ । ०४६ सालको संयुक्त आन्दोलनदेखि ०६२/०६३ सालको संयुक्त जनआन्दोलनसम्म आइपुग्दा जे जति राजनीतिक घटनाहरू भएका छन्, ‘दृष्टि’ त्यसको प्रत्यक्षदर्शी पनि हो ।
जीवित इतिहासका रुपमा ‘दृष्टि’ पाठकहरूमाझ इमान्दारपूर्वक ३८ वर्षदेखि उभिएको छ । उभिने छ । राजनीतिक दलको ‘मिसन’ सकिएको होला । दृष्टिको मिसन सकिएको छैन । कम्युनिष्ट आन्दोलनमा झांगिएको झारपात उखेल्नुपर्छ । विकृति र विसंगतिविरुद्ध लड्नुपर्छ । कम्युनिष्टको आवरणमा देश लुट्नेहरुलाइृ जेल कोच्नुपर्छ । त्यसका लागि दृष्टिको कलमले राजनीतिक दललाई सधैँ खबरदारी गरिरहने छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताप्रति ‘दृष्टि’ प्रतिबद्ध छ ।
सत्तामा पुगेपछि राजनीतिक दलका नेताहरूले आफ्नो सिद्धान्त, विचार, आचरण बिर्सिए पनि ‘दृष्टि’ ले त्यस्ता विकृति, विसंगतिविरुद्ध सधैँ कलम चलाइरहने छ । जनपक्षीय पत्रकारिताको माध्यमबाट समाजवादको लक्ष्य प्राप्तिका लागि ‘दृष्टि’ को दृष्टिकोण स्पष्ट छ ।
अन्त्यमा, हाम्रा पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।