Logo
Logo

क्षिक्षक एमाले महाधिवेशनमा गएपछि विद्यालय बन्द !


2.1k
Shares

काठमाडौं । कपिलवस्तुको विद्यालयमा अध्यानरत विद्यार्थीहरुको पढाईमा एमाले महाधिवेशनको असर परेको छ । चितवनमा जारी एमालेको दशौं महाधिवेशनका लागि शिक्षकहरु गएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द भएको छ ।

विद्यालयका प्रधानाध्यापक केही दिनदेखि भ्रमणमा गएको र अधिकांश शिक्षक एमालेको महाधिवेशनमा गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको स्थानीयको भनाई छ ।

विजयनगरस्थित गुगौलीको दुधधारी मावि, भटनी प्रेमनगरको हरिबोध विद्यालय, गणेशपुरको राम लौटन द्रोपती मावि, डालपुरको शिव मावि, जगदीशपुरको भुवनेश्वरी माविलगायतका विद्यालय बन्द भएको छ ।

विजयनगरका स्थानीय तेजप्रसाद पौडेलले विद्यालयमा परीक्षा सञ्चालन भइरहेको समयमा विद्यालय बन्द गरी राजनीतिक कार्यक्रममा जानु गलत भएको बताए ।

लुम्बिनी प्रदेशको नमुना विद्यालयमा छनोट भएको दुधधारी माविसमेत बन्द भएको स्थानीय जानकीप्रसाद यादवको भनाई छ । शिक्षकहरू खुलेर राजनीतिमा लाग्दा शिक्षा क्षेत्रसमेत बदनाम तथा प्रभावित भएको उनको भनाई छ ।

विद्यालय बिदा गर्ने जानकारीसमेत नगराई शिक्षकहरू महाधिवेशनमा गएका थिए । यता विजयनगर गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासे पनि नेकपा एमाको महाधिवेशनमा गएको बुझिएको छ ।

विजयनगर गाउँपालिका कार्यालयका अधिकांश कर्मचारी पार्टीको महाधिवेशनमा गएपछि कार्यालयको कामकाजसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्