Logo
Logo

चितवनमा भोट माग्दै एमालेका दुई विद्रोही


32.4k
Shares

काठमाडौं । नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदका दाबेदार उपाध्यक्ष भीम रावलले भोट माग्न थालेका छन् ।

शनिबार बन्द सत्र सुरु हुँदै गर्दा नेता रावलले आफूलाई मतदान गरी जिताउन प्रतिनिधिहरू समक्ष आग्रह गरेका हुन् । रावलले आजै उम्मेरदवारी दर्ता गर्दै छन् । उम्मेदवारी दिनुअघि नेता रावलले प्रतिनिधिहरूलाई भेट्दै भोट मागिरहेका छन् ।

त्यस्तै उपाध्यक्षका दाबेदार उपमहासचिव घनश्याम भुसालले पनि मत मागेका छन् । उनले समाजिक सञ्जालमार्फत प्रतिनिधिहरु समक्ष आफूलाई मतदान गरी जिताउन आग्रह गरेका हुन् ।

शनिबार उनले सार्वजनिक गरेको फोटोमा नारा लेखिएको छ– ‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौँ। सामूहिकता, विधि र विचारसहितको नेकता एमालेको पुनरोदय गरौँ ।’

भुसालले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर उपाध्यक्ष रावलले अध्यक्ष पदको लागि दाबी गरेपछि उनी पछि हेटेका थिए ।

यता, अध्यक्ष केपी ओलीसहित नेताहरूले महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल गरिरहेका छन् । अध्यक्ष ओलीले भने नेतृत्व चयनको प्रक्रियालाई सर्वसम्मत गराउन भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव गर्दै केन्द्रीय कमिटी, पदाधिकारी र स्थायी कमिटीको संख्या बढाएका थिए ।

अध्यक्ष ओलीले रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने गरी प्रस्ताव गरेपनि उनले अस्वीकार गरेका छन् । उनले अध्यक्षमै प्रतिस्पर्धा गर्ने अडान लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्