Logo
Logo

एमाले हनुमानजस्तै हो : ओली


2.7k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हनुमानसँग तुलना गरेका छन् । चितवनमा जारी एमालेको १०औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै एमालेले हनुमानले जस्तै आफ्नो शक्ति आफै जाँचेको उनले बताए ।

एमाले कमजोर भयो, एक्लियो भन्नेहरूलाई शुक्रबार उद्घाटन समारोहमा देखिएको जनसागरले जवाफ दिएको उनको भनाइ छ । ‘एमाले एक्लियो कि एक्लिएन हामीले हिजो हेरेनौं ?’ उनले भने, ‘हनुमानले आफ्नो शक्ति हेरेजस्तै हामीले पनि हिजो आफ्नै शक्ति हेर्‍यौं, पहिचान गर्‍यौं ।’

एमालेलाई हनुमानसँग तुलना गर्दै ओलीले भने, ‘समुद्र तरेर लंका जानेबेला हनुमान छटपटाउन थालेका थिए, के गरेर जाने होला भनेर । कसैले भन्यो हनुमान तिमी वीर वायुपुत्र हौ, वीर हनुमान हौ, जन्मने बित्तिकै तिमीले सुर्य खान झम्टिएका थियौ, त्यस्तो हनुमानले यो चार समुद्र पार गर्न पनि छटपट गर्ने हो ? अलपत्र पर्ने हो ? उफ्रिएर तिमी पार गर्ने सक्छौ । बल्ला हनुमानले झल्यास्स आफ्नो तागत सम्झिायो, हामीले पनि सम्झियौं- एमाले जनपुत्र हाैँ, नेपालपुत्र हौँ, जनताका छोराछोरी हाैँ, अनि एमाले यी समस्यहरुको समाधान गरेर जान सक्दैनौं ? हामीले सक्छौँ ।’

धुलोमा पछारिएको पार्टी एक वर्ष नपुग्दै देशको सबैभन्दा ठूलो बनेको पनि ओलीले बताए । ‘हिजो मात्रै हो । एक वर्ष पुगेको छैन । हाम्रो हातबाट पार्टी खोसिएको थियो । हामी निस्कासित भएका थियौं । सडकमा फालिएका थियौं । पार्टी खोसिएर प्रतिक्रियावादीको पाउमा चढाउन खोजिएको थियो,’ ओलीले भने, ‘त्यस्तो बेलाबाट आज एक वर्ष नपुग्दै यो पार्टी यस तहमा पुन:जिवित मात्रै होइन । यो पार्टी धुलोमा पछारिएको थियो । अहिले नेपालको सबैभन्दा ठूलो पार्टीको रुपमा निर्णायक पार्टीको रुपमा दर्ज भएको छ ।’

प्रतिक्रिया दिनुहोस्