Logo
Logo

मतदाता नामावली सङ्कलन हुँदै


945
Shares

बझाङमा । आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनलाई लक्षित गरेर जिल्लामा पनि फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु हुने भएको छ । यही मङ्सिर १७ गतेदेखि सुरु हुने नामावली सङ्कलन दुई चरणमा सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भानुभक्त भट्टले जानकारी दिनुभयो । दुई चरणमा सञ्चालन हुने नामावली सङ्कलन कार्य १० दिनसम्म सञ्चालन हुने बताइएको छ ।

दुई नगरपालिका, १० गाउँपालिका रहेको जिल्लामा पहिलो चरणमा मङ्सिर १७ देखि मङ्सिर २६ गतेसम्म जिल्लाका बुङ्गल नगरपालिका, थलारा, खप्तडछान्ना, मष्टा, साइपाल गाउँपालिका र छविसपाथीभेरा गाउँपालिकामा सञ्चालन हुनेछ । दोस्रो चरणमा मङ्सिर २९ देखि पुस ९ गतेसम्म बित्थडचिर, केदारस्यु, दुर्गाथली, सुर्मा र तलकोट गाउँपालिकामा सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ ।

नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ । सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाइने भएको छ । स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली सङ्कलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् ।

फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । बझाङमा हालसम्म एक लाख २० हजार ९७१ जनाले भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्