काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ‘बाल उच्च शिक्षा (अग्रिम भुक्तानी सावधिक)’ जीवन बिमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीले बिमितको सन्तानको उच्च शिक्षाका लागि आवश्यक पर्ने ठूलो खर्च रकमको सहज व्यवस्थापन गर्न सहयोग पु¥याउने उद्देश्यले बिमा योजना ल्याएको हो ।
योजनाअन्तर्गत नवजात शिशुदेखि १३ वर्ष उमेरसम्मका बालबालिकाको एक करोड रुपैयाँ बिमांकसम्म जीवन बिमा गर्न सकिने जनाइएको छ । बिमित बालक उमेरका आधारमा कक्षा ११ देखि स्नातक तहसम्मको शिक्षण शुल्क व्यहोर्न सघाउ पुग्ने गरी किस्ताबन्दी रूपमा बिमांकको रकम भुक्तानी गरिने सुविधा रहेको कम्पनीले जनाएको छ । यो बिमाको माध्यमबाट छोराछोरीको उच्च शिक्षाका लागि अभिभावक ढुक्क हुने कम्पनीको दाबी छ ।
बिमित बच्चा १६ वर्षदेखि २० वर्ष उमेर पूरा हुँदासम्म प्रत्येक वर्ष बिमांकको २५, १५, २५, २० र १५ प्रतिशत रकम भुक्तानी गरिने कम्पनीले जनाएको छ । यसबाहेक बिमा अवधि समाप्तिमा बिमित बच्चालाई नियमानुसारको बोनस रकमसमेत प्रदान गरिने जनाइएको छ । तोकिएको अवधि पूरा हुनुभन्दा अगाडि बिमितलाई रकम खाँचो परेको अवस्थामा बिमालेखको सर्तको अधीनमा रही १२ महिनाअघि नै अग्रिम भुुक्तानी रकम प्राप्त गर्न सकिने सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।
यस बिमा योजनामा बिमा अवधिभित्र बिमित बच्चाको मृत्यु भएमा बिमांकको २५ प्रतिशत रकम तत्काल भुक्तानी दिइने तथा बिमांकको ७५ प्रतिशत रकम र मृत्यु हुँदासम्मको आर्जित बोनस एकमुष्ट बिमा अवधि समाप्ति भएपछि भुक्तानी दिने कम्पनीले जनाएको छ ।