काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले महाधिवेशन प्रतिनिधिलाई ‘जीवन रोज्ने कि मृत्यु’ भन्ने प्रश्न गरेका छन् । बुधबार काठमाडौंमा सुरु महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
उनले पार्टी एकतापछिको दुई वर्षको कार्यशैली र गतिविधि केही मन्त्री बनाउने र कुनै दलको पछि लाग्नेमात्र भएको बताउँदै राजसंस्था पुर्नस्थापना र हिन्दु राष्ट्र बनाउने हैसियत हासिल गर्न नसकेको बताए ।
उनले भने, ‘एकीकरणको दुई वर्ष राप्रपाको गतिविधि शून्य भयो । राष्ट्रिय राजनीतिबाट बेपत्ता भएजस्तो छ । दुई वर्ष पार्टीको गति, चल्ने शैली हेर्दा यही ढंगले अघि बढ्दा के हुन्छ भन्ने सबैलाई थाहा छ ।’
लिङ्देनले यतिबेला पार्टी इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षणमा उभिएको बताउँदै यसअघिको महाधिवेशनमा नेपालका तीन ठूला पार्टी एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीका बीचमा राप्रपाको प्रशंसा गर्नमा मात्र प्रतिस्पर्धा चलेको बताए ।
‘राप्रपा नयाँ शक्तिको रुपमा उदय र विकास भइरहेको छ भनेर उहाँहरुको सम्बोधनबाट व्यक्त भइरहेको थियो’ उनले भने, ‘तर लामो समय राप्रपाको त्यो एकता टिक्न सकेन । आज यहाँ आइपुग्दा राप्रपा देशको राष्ट्रिय मान्यता प्राप्त पार्टी पनि बन्न सकेन ।’