Logo
Logo

बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गरौँ : राष्ट्रपति


252
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गरेकी छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहलाई बिहीबार लुम्बिनीमा सम्बोधन गर्दै उनले छब्बीस सय वर्षदेखि एशिया महाद्वीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरि फैलिइरहेको र विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुले बौद्ध दर्शनलाई आफ्नो प्राज्ञिक कार्यक्रमका रूपमा समावेश गर्दै गएको उल्लेख गरिन् ।

बुद्धकालीन ज्ञान र शिक्षालाई वर्तमान सन्दर्भसँग जोडेर शिक्षा प्रणाली, पाठ्यक्रम र पठनपाठनका क्षेत्रमा अवलम्बन गर्नसके लुम्बिनी विश्वविद्यालयको बहुआयामिकता थप अभिवृद्धि हुने उनको विश्वास छ ।

‘यसबाट हाम्रो महान बौद्ध सभ्यताको विरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्न सक्दछ । प्राज्ञिक विकासको पूर्वसर्त विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता हो, विश्वविद्यालयमा विशुद्ध प्राज्ञिक वातावरण कायम गरी राज्यका लागि आवश्यक दक्ष जनशक्तिको उत्पादन गर्न पाठ्यक्रमलाई अनुसन्धान केन्द्रित बनाउनु पर्दछ’, राष्ट्रपति भण्डारीले भनिन् ।

हाम्रो मुलुकबाट ठूलो सङ्ख्यामा अध्ययनका लागि विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न उच्च शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति भण्डारीले बौद्ध विश्वविद्यालयले लिएको आफ्नो लक्ष्य र उद्देश्यलाई ओझेलमा नपारी स्वदेशी तथा विदेशी विद्यार्थी एवं अनुसन्धानकर्तालाई आकर्षित गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले बुद्धद्वारा प्रवर्तित सामूहिकता र मानव प्रेमको भावना जागृत गराउनसके समाजमा विद्यमान स्वार्थ र द्वन्द्व निवारण गर्दै दिगो शान्ति कायम गर्न मद्दत पुग्ने उल्लेख गर्दै बुद्धको जीवनमा प्रकृति र प्रेम अभिन्नरूपले जोडिएको प्रसङ्ग उल्लेख गरिन् ।

‘उडिरहेको हाँसको पखेटामा तीर लागेर जमिनमा झरेको भेटेपछि बगैँचामा खेलिरहेका सिद्धार्थले जडीबुटीद्वारा त्यसको उपचार गरेको प्रसङ्ग बौद्ध शिक्षामा आउँछ । यसले एकातिर बुद्धमा रहेको दया र करुणाको भाव झल्काउँछ भने अर्कातिर उनमा बाल्यावस्थादेखि नै प्राणी र वनस्पतिसँग सान्निध्य रहेको स्पष्ट पनि पार्दछ’, उनले भनिन् ।

राष्ट्रपति भण्डारीले मुलुकको मौलिक परम्पराका रूपमा विकसित भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्दै समयसापेक्ष तुल्याउनुपर्ने बताइन् ।

विशेषरूपमा कपिलवस्तु, रूपन्देही र नवलपरासी तथा देशैभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक साँस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण तथा सम्वद्र्धन गर्न अग्रसर हुनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्