Logo
Logo
राप्रपा महाधिवेशन

मतदाता नामावली सार्वजनिक, शनिबार चुनाव


882
Shares


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ ।

राप्रपामा प्रतिनिचि चयनमा विवाद भएपछि महाधिवेशन प्रभावित बनेको थियो । सो विवाद टुंग्याएपछि बिहीबार राति निर्वाचन समितिले महाधिवेशनमा प्रतिनिधि सूची सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका सह–संयोजक तोरणबहादुर गुरुङका अनुसार राप्रपामा चार हजार ४ सय ७१ जनाको मतदाता नामावली प्रकाशित गरिएको छ । मतदानस्थल राष्ट्रिय सभागृहमा सूची सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिले दाबी विरोधका गर्न शुक्रबार ११ बजेसम्मको समय दिएको छ । निर्वाचन समितिका अनुसार साढे ११ बजेबाट उम्मेदवारको दरखास्त आह्वान गरिनेछ । उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्ताका लागि अपराह्न ५ बजेसम्म समय तय गरिएको छ ।

शुक्रबार नै उम्मेदवारको अन्तिम सूची प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ । मतदानले भने शनिबार बिहानबाट हुने गुरुङले बताए ।
राप्रपामा भावी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । लिङ्देन समूहले उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेको छ । तर, थापा समूहले थापाले बाहेक अन्य उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।

राप्रपामा चार उपाध्यक्ष (एक महिलासहित), तीन महामन्त्री (एक महिलासहित)मा निर्वाचन हुनेछ ।

एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदैछ भने बाँकी मनोनित हुनेछन् । यस्तै, सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनित हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्