Logo
Logo

जम्बो पदाधिकारी र सदस्यका लागि एमाले कार्यालयमा कार्यकक्षको अभाव


630
Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कार्यालय रहेको थापाथलीमा पदाधिकारीका लागि कार्यकक्षको अभाव भएको छ । कार्यकक्ष थोरै र पदाधिकारी संख्या बढी भएपछि व्यवस्थापन गर्न कर्मचारीलाई समस्या भएको हो ।

चितवनको सौराहामा सम्पन्न १०औँ महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारी निर्वाचित भएका थिए । अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारीहरुले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

प्रथम विधान महाधिवेशनबाट पारित विधानमा संशोधन गर्दै अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरुलाई व्यवस्थापन गर्नका लागि पदाधिकारी संख्या बढाएका थिए । केन्द्रीय कार्यालय साघुरो रहेको पदाधिकारी संख्या बढी भएकाले सबैको कार्यकक्ष मिलाउन समस्या भएको केन्द्रीय कार्यालयमा कार्यरत एक कर्मचारीले बताए ।

अध्यक्ष ओली आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्दै गर्दा उता कर्मचारीहरुले उपाध्यक्ष, उपमहासचिव, सचिवका लागि कार्यकक्षको कोठा मिलाउनमा व्यस्त भएका थिए ।

चितवन महाधिवेशनबाट अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव निर्वाचित भएका थिए । अध्यक्ष र महासचिवका लागि कोठा भएपनि अन्य पदाधिकारीका लागि कोठा अभाव भएको छ ।

एमालेले थापाथलीमै उपाध्यक्षहरूका लागि संगठन विभागको कोठामा र विदेश विभागसहितको तीन वटा कोठा व्यवस्थापन गरेको छ । त्यसैगरी नेतृत्व कक्ष (शीर्ष नेताहरुको बैठक स्थल) लाई पनि उपाध्यक्षको कोठा बनाइएको छ ।

यसअघि निर्वाचन आयोग मात्रै रहेको कोठामा अब अनुशासन आयोगलाई पनि राखिने भएको छ । नवनिर्वाचित सचिवहरूलाई एमालेले एकै कोठामा राख्ने भएको छ । थापाथलीको भवन एमाले केन्द्रीय सदस्यमा निर्वाचित मोदी दुगडको पहलमा उपलब्ध गराइएको हो ।

एमालेले महाधिवेशन अघि नै ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा केन्द्रीय कार्यालय सार्न खोजेको थियो । तर, अझै पनि थापाथली हाइटबाट च्यासल सरिसकेको छैन् ।

पदाधिकारीका लागि कार्यकक्षको अभाव भएपछि २८२ जना केन्द्रीय सदस्यहरु कहा बस्ने भन्ने चिन्ता कर्मचारीहरुलाई रहेको छ । थापाथलीको कार्यालय साँघुरो भएकै कारण एमालेले च्यासलमा केन्द्रीय कार्यालय सार्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्