Logo
Logo

हिउँदे अधिवेशनमा विधेयकको चाप


1.3k
Shares

काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन मङ्सिर २८ गतेदेखि सुरु हुँदैछ । अघिल्लो अधिवेशन विधायिकी प्रक्रिया अघि बढाउन सङ्घीय संसद् असफल भएको थियो । हिउँदे अधिवेशनमा विचाराधीन विधेयक अघि बढाउने चुनौती छ । सङ्घीय संसद्मा अहिले पनि ५७ विधेयक विचाराधीन छन् ।

अघिल्लो अधिवेशनले विधायिकी प्रक्रिया अघि बढाउन सकेको थिएन । एउटा पनि कानुन तर्जुमा नगरी अधिवेशन अन्त्य गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को निरन्तरको अवरोधका कारण विधायिकी प्रक्रिया अवरुद्ध भएको थियो । त्यसै कारण अधिवेशन कात्तिक १२ गते अन्त्य गरिएको थियो । तर आउँदो अधिवेशनमा पनि आफ्ना एजेन्डा यथावत रहेको जनाउ प्रतिपक्षी एमालेले दिएको छ ।

कानुन तर्जुमाको अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशनका लागि सङ्घीय संसद्मा ५७ विधेयक विचाराधीन रहेको सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो । विचाराधीनमध्ये प्रतिनिधि सभामा ४४ र राष्ट्रिय सभामा १३ विधेयक छन् । विधेयकमध्ये दर्ता तथा सदस्यहरूलाई वितरण मात्र भएका १५ विधेयक छन् । जसमा प्रतिनिधि सभामा १२ र राष्ट्रिय सभामा ३ वटा छन् ।

यस्तै ३१ विधेयक सभामा विचाराधीन छन् । विचाराधीनमध्ये २५ प्रतिनिधि सभामा र ६ राष्ट्रिय सभामा छन् । यस्तै विभिन्न समितिमा ११ विधेयक विचाराधीन छन्, जसमा प्रतिनिधि सभामा ७ र राष्ट्रिय सभामा ४ विधेयक छन् ।

यस्तै प्रतिनिधि सभामा लोक सेवा आयोग विधेयक, सैनिक (पहिलो संशोधन) विधेयक, मिडिया काउन्सिल विधेयक छन् । लोक सेवा र मिडिया काउन्सिल दुवै विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका हुन् । नेपाल विशेष सेवा, सङ्घीय निजामती सेवा विधेयक, नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, कारागार विधेयक, खानेपानी तथा सरसफाइ विधेयक, नीति अनुसन्धान प्रतिष्ठान विधेयक, सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक विचाराधीन छन् । नागरिकता विधेयक संसद्को दोस्रो अधिवेशनदेखि विचाराधीन छ । तीन वर्षभन्दा लामो समयदेखि विधेयक पारित हुन सकेको छैन ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्