Logo
Logo

शेखर, सुजाता र महेशद्वारा गुरुराजलाई धोका


11.8k
Shares

विराटनगर । आफैंलाई उम्मेदवार बनाउने तीन जना केन्द्रीय नेताले भोट नहाल्दा नेपाली कांग्रेस क्षेत्र नम्बर १ को सभापतिमा गुरुराज घिमिरे पराजित भएका छन् ।

कांग्रेसका तीन जना नेता डा‍ शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्य भोट हाल्न नगएपछि घिमिरे २ मतले पराजित भएका हुन् । अर्का केन्द्रीय नेता एवं रक्षा मन्त्री डा मिनेन्द्र रिजालले भने क्षेत्र नम्बर १ को सभापतिका लागि मतदान गरेका थिए ।

घिमिरेलाई सभापति बनाउने आफ्नै समूहकै केन्द्रीय नेताहरुबाट नै असहयोग भएको भन्दै भन्दै उनका समर्थक असन्तुष्ट बनेका छन् । कोइरालासहित वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश १ सभापतिमा केन्द्रीय सदस्य घिमिरेलाई सभापतिको उम्मेदवार बनाएका थिए ।

घिमिरेलाई मत हाल्न नगएकोमा शेखर कोइरालाले भने क्षमा पनि मागेका छन् । प्रदेशस्तरसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने विषयमा प्रष्ट नहुँदा आफूले मतदान नगरेको कोइराला बताउँछन् ।

‘कांग्रेस १४ औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय शुरु देखि नै “संशय” थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘तसर्थ मतदान नगर्नु उपयुक्त ठानेँ। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’

नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन् । उनीहरुले नगरदेखि केन्द्रसम्म नै भोट हाल्ने अधिकार पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्