Logo
Logo

भल्भन्सालाई कानुनी मान्यता दिनुपर्छ: मुख्यमन्त्री भट्ट


693
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थारु समुदायको अगुवा भल्भन्सालाई कानुनी मान्यता दिने कानुनको आवश्यकता भएको बताएका छन् ।

सोमबार कैलालीको घोडाघोडी ताल क्षेत्रमा आयोजित ल्वांवी पूजा तथा सांस्कृतिक महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताउनु भएको हो ।

अहिले पनि थारु समुदायमा कुनैपनि काम गर्दा भल्भन्साहरुको सुझावबाट गर्नुका साथै गाउँको अगुवा समेत भन्भन्साले गर्ने भएकाले कानुनी मान्यता आवश्यकता भएको जनाइएको छ ।

मुख्यमन्त्री भट्टले घोडाघोडी ताल धार्मिक पर्यटकले महत्वपूर्ण भएको बताउँदै उक्त क्षेत्रमा सबै समुदायको प्रतिनिधित्व गर्ने गरी सुदूरपश्चिमकै ठूलो मन्दिर निर्माणमा प्रदेश सरकारले सहयोगगर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

उनले सबै जातजातीको संस्कृति परम्परा जोगाउन प्रदेश सरकार सदैव साथमा रहेको बताए । साथै उनले ल्वाी पूजा तथा सांस्कृतिक महोत्सवका लागि आउने वर्षमा प्रदेश सरकारले व्यवस्थापनका लागि सहयोग गर्ने बताए । उनले थारु समुदायका जेहेन्दार विद्यार्थीका लागि प्राविधिक शिक्षा पढ्न चाहेकालाई छात्रावृत्तिको व्यवस्था गरेको समेत जानकारी दिए ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य हरीराम चौधरी, कृषि मन्त्री विनिता चौधरी घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी नेकपा माओवादी केन्द्रका नेता नैनसिंह चौधरी, नेकपा एमाले नगर अध्यक्ष बक्त शाही, नेपाली कांग्रेस नगर अध्यक्ष बमबहादुर सिंह लगायत थारु अगुवाहरुको उपस्थिति रहेको थियो ।

हरेक वर्ष विवाह पञ्चमीको दिनमा गरिने उक्त पूजा विशेष गरि नयाँ अन्न आफ्ना देउतालाई चढाएर पूजा गर्ने चलन छ भने बली दिने प्रथा समेत रहेको छ ।

उद्घाटन कार्यक्रममा थारु समुदायको झाँकी, कला संस्कृती, भेषभूषा र खानेकुराले स्वागत गरिएको थियो । कार्यक्रम नगर भल्भन्सा बुधराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्