Logo
Logo

कांग्रेसमा यसरी चुनिन्छन्, १४ पदाधिकारीसहित १६७ केन्द्रीय सदस्य


1.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन यही शुक्रबार अर्थात २४ मंसिरबाट काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनका लागि अन्तिम तयारी पूरा भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महाधिवेशनबाट १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय समिति चयन हुनेछन् ।

कांग्रेस महाधिवेशन निर्वाचन समितिका अनुसार २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उदघाटन र हलमा बन्द सत्र हुनेछ । यस्तै, २५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।

कांग्रेसले भृकुटीमण्डप, राष्ट्रियसभा गृह र महेन्द्र पुलिस क्लब गरी तीन ठाउँमा मतदानको व्यवस्था मिलाउने जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिले २९ वटा मतपत्रमार्फत् मतदान गरेर नयाँ कार्यसमिति चुन्ने छन् ।

देश संघीय संरचनामा गएपछि पहिलोपटक कांग्रेसको महाधिवेशन हुन लागेको हो । यो महाधिवेशनबाट १४ पदाधिकारीसहित १६७ सदस्यीय केन्द्रीय समिति चयन हुनेछन् ।

यस्तै, एकजना सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर)बाट चयन हुनेछन् । कांग्रेसको संशोधित विधानअनुसार सहमहामन्त्रीहरू विभिन्न क्लस्टरबाट उम्मेद्वार बन्नेछन् भने सबैलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने छ । तर, कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ ।

महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यमध्येबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट खुलाबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रीय समितिबाट थप ३३ जना मनोनित हुनेछन् ।

यस्तै, केन्द्रीय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जनाको दरले २१ जना, दलितबाट चार महिलासहित ९ जना, आदिवासी जनजातिबाट सात महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट चार महिलासहित ९ जना, थारुबाट दुई महिलासहित चार जना, मुस्लिमबाट एक महिलासहित तीन जना र पिछडिएको क्षेत्रबाट एक जना गरी ५४ जना केन्द्रीय सदस्य चुनिने छन् भने अपाङ्गता वा अल्पसंख्यक समूहबाट एक केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जसमा समावेशी र समानुपातिक सिद्धान्तअनुसार सभापतिले थप १४ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्