Logo
Logo

हाल प्रयोग भइरहेका खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्छ : डब्लूएचओ


819
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हाल प्रयोग भइरहेका कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने बताएका छन् ।
पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्टबारे गरिएको नयाँ ल्याब परीक्षणबाट ओमिक्रोनले फाइजर खोप छल्न सक्ने देखिएका बेला डब्ल्यूएचओका अधिकारीको यस्तो भनाइ आएको हो ।

अनुसन्धानकर्ताले पनि नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता कम हुन सक्ने बताइरहेकाका छन् । तर, डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले ओमिक्रोनको खोप छल्ने क्षमता अन्य भेरियन्टभन्दा राम्रो रहेकाबारे हालसम्म कुनै संकेत फेला नपरेको बताए ।

उनले भनेका छन्, ‘हामीसँग गम्भीर संक्रमण र अस्पताल भर्ना हुनबाट बचाउँने अनि सबै भेरियन्टविरुद्ध काम गरिसकेका निकै प्रभावकारी खोप छन् ।’ उनले नयाँ भेरियन्टको हकमा फरक अनुमान गर्नुपर्ने कुनै कारण नभएको बताए ।

प्रारम्भिक तथ्यांकबाट समेत डेल्टा र अन्य भेरियन्टको तुनलामा ओमिक्रोनले गम्भीर संक्रमण गर्ने संभावना कम रहेको उनको भनाइ थियो ।
दक्षिण अफ्रिकामा गरिएको नयाँ अध्ययनले भने सुरुको कोभिड स्ट्रेनको तुलनामा ओमिक्रोनविरुद्ध फाइजर÷बायोइन्टेक खोपको प्रभावकारिता ४० प्रतिशत कम हुन सक्ने देखाएको छ ।

अध्ययनको नेतृत्व गरेका तथा अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका भाइरस विशेषज्ञ एलेक्स सिगलले समेत ओमिक्रोनले खोपबाट प्राप्त हुने एन्टिबडी छल्नेसम्बन्धी तथ्य ‘अपूर्ण’ रहेको बताएका छन् ।

वैज्ञानिकहरूले पनि यसअघिको कोभिड संक्रमण, लगत्तैको खोप वा बुस्टर डोजका कारण रोग प्रतिरोधी क्षमता बढ्न सक्ने र मानिसहरू गम्भीर संक्रमणबाट सुरक्षित हुने विश्वास गरेका छन् । ओमिक्रोनविरुद्ध फाइजर खोप के–कति प्रभावकारी छ भन्नेबारे केही दिनभित्रै तथ्यांक बाहिर आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्