Logo
Logo

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु


504
Shares

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनमा दुई दिने पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सो सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

सम्मेलनलाई राष्ट्रपति भण्डारी र परराष्ट्रमन्त्री नारायण खड्काले सम्बोधन गरेका छ्न् । ०७२ को भूकम्पपछिको पुनर्निर्माणमा नेपालले हासिल गरेको अनुभवन र सिकाइ राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायमा बाँड्न सम्मेलन आयोजना गरिएको हो ।

यस सम्मेलनलाई भारत र चीनका विदेशमन्त्रीले सन्देश पठाई शुभकामना व्यक्त गरेका छन् । नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ्ग यीले भिडियो सन्देश दिएका हुन् ।

भिडियो सन्देशमा भारतीय विदेशमन्त्रीले २०७२ सालमा नेपालमा भूकम्प भएको ६ घण्टामा उद्धार टोली पठाएको स्मरण गरेका छन् । उनले भारत नेपालको सुखदुःखमा सदैव पहिलो सहयोगी मुलुक रहँदै आएको बताए ।

भारतीय सहयोगमा नुवाकोट र गोरखामा ५० हजार घर पुनर्निर्माण गरेको उनले बताए । नेपालको विकासमा सहयोग गर्न भारत तयार रहेको उनको भनाइ छ । ‘भूकम्पपछिको पुनर्निर्माण लगभग सकिन लागेकोमा म पुनर्निर्माण प्राधिकरण र नेपाल सरकारलाई बधाई दिन चाहन्छु’, उनले भने ।

यस्तै, सम्मेलनमा भिडियो सन्देश दिँदै चिनियाँ विदेशमन्त्री वाङ्ग यीले नेपालको नेतृत्वमा पुनर्निर्माण कार्य सप्पन्न हुन लागेकोमा खुसी व्यक्त गरे ।
चीनले नेपालमा भूकम्प गएको भोलिपल्टै मानवीय सहयोगसहित उद्धार टोली पठाएको स्मरण गर्दै उनले भने, ‘चीन नेपालको सुखदुःखको मित्र हो, अबका दिनमा पनि निकट सहयोगी रहनेछ ।’

वाङ्गले चिनियाँ राष्ट्रपति सि चिनफिङ्गको सन २०१९ मा भएको नेपाल भ्रमणबाट दुईपक्षीय सहकार्य अझै सुदृढ भएको बताउँदै नेपालसँगको रणनीतिक साझेदारी गहन पार्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रुपैयाँ थियो । त्यसमध्ये ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको छ, जुन कुल वास्तविक प्रतिबद्धता रकमको ९७.५ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्