Logo
Logo

स्वदेशमा गाडी उत्पादनका लागि सरकारले सहयोग गर्छ : अर्थमन्त्री


1.2k
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । बुधबार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।

‘स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति आवश्यक छ’, मन्त्री शर्माले भने, ‘आयातलाई प्रतिबन्ध लगाउनुपर्छ म भन्दिनँ । आजको जमानामा यो सम्भव छैन ।’ उनले विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा सन्धीहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव नहुने मन्त्री शर्माको भनाइ रहेको छ ।
स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजान सकिने बताउँदै मन्त्री शर्माले यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनोट गरेर प्रतिस्पर्धी बनाउनुपर्ने बताउँदै खाद्यान्न, उद्योग साथै अन्य विभिन्न क्षेत्र छनोट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिस्पर्धी बनाउनुपर्ने धारणा व्यक्त गरे ।

मन्त्री शर्माले अटोमोबाइल्स क्षेत्रले राजस्वमा पुर्याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी थप योगदान गर्न समेत व्यवसायीहरूलाई आग्रह गरे ।

नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गर्दै मन्त्री शर्माले २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पुर्याउन व्यवसायीसँग आग्रह गरे ।

उत्पादनका लागि विद्युतमा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टी लगायतका सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरूको व्यवस्था गर्ने समेत मन्त्री शर्माले प्रतिवक्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्