Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

प्रकाशमान र शेखरले अडान नछाड्दा साझा उम्मेदवारको सम्भावना टर्दै


1.2k
Shares


काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहबाट सभापतिको साझा उम्मेदवार छनोटको सम्भावना टर्दै गएको छ । तैपनि सहमतिको प्रयासमा नेताहरुको दौडधुप जारी छ ।

सहमतिको प्रयास असफल भएपछि वरिष्ठ नेता पौडेल मौन छन् । उनी आफ्नो समूहका नेताहरुले गरेको छलफलमा समेत सक्रिय रुपमा सहभागी भएका छैनन् । यद्यपि, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका आकांक्षीले भने सहमतिको प्रयास छाडेका छैनन् ।

बिहीबार साँझ महामन्त्री डा. शशांक कोइरालालाई भेटेर पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका उनीहरुले सभापतिका दुई आकांक्षी प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई छुट्टाछुट्टै भेटेका थिए । उनीहरुले वरिष्ठ नेता पौडेललाई नै साझा उम्मेदवारका रुपमा अघि सारेर अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए ।

एक केन्द्रीय सदस्यका अनुसार पौडेलको नाममा सहमति जुटेका सभापतिका आकांक्षी डा. कोइराला सकारात्मक देखिएका छन् । सिंह सभापतिको उम्मेदवार बन्दा आफूलाई पनि रोक्न नमिल्ने शेखरको तर्क छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने पौडेललाई साझा उम्मेदवार मान्न आफू तयार नभएको बताएका छन् । सहमति हुँदैन भने आफूले सभापतिमा उम्मेदवारी दिने उनले बताएका छन् ।

नेपाली कांग्रेस संस्थापनइतरमा सभापतिमा साझा उम्मेदवार बनाउने सम्भावना टर्दै गएपछि नेताहरुले नयाँ विकल्पमा छलफल थालेका छन् ।
शुक्रबार बिहान अनुपम फुडल्याण्डमा छलफल गरेका केन्द्रीय सदस्यहरुले भने, ‘यदि सभापतिमा सहमति जुट्दैन भने पदाधिकारी र केन्द्रीय सदस्यमा भने साझा उम्मेवार खोजौँ ।’

अहिलेको अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि साथ दिनुपर्ने उनीहरुको भनाइ छ । केही दिनयता संस्थापनइतरका सभापतिका साझा उम्मेदवारका लागि सहमति खोजी सुरु भएको हो । तर, शुक्रबार बिहानसम्म पनि साझा उम्मेदवारमा सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्