Logo
Logo

पूर्वराजालाई राजनीतिक दल खोल्न माधव नेपालको चुनौती


2.2k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा फेरि पनि राजतन्त्रको आवश्यक्ता नभएको बताएका छन् । एउटा वंशको शासन आफूहरुलाई स्वीकार नभएको बताउँदै उनले पूर्वराजालाई एउटा राजनीतिक दल खोल्न सुझाव दिएका हुन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको सफलताको शुभकामना दिँदै उनले प्रतिगामी तत्वहरु सबैतिर मौलाउँदै गएको बताए । नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको टिप्पणी गर्दै बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई उनले सुझाव दिए ।

१६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको उनले सम्झेका छन् । तर, अहिले कालो बादल मडारिन खोजेको भन्दै उनले भने, ‘प्रतिगमी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’

नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले दुस्साहस नगर्न आग्रह गरे । उनले अघि भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’

प्रतिगामी तत्वलाई फेरि शिर उठाउँने काम नगर्न चेतावनी दिँदै उनले राजनीतिक दलभित्र समेत यस्ता तत्वहरु सल्बलाइरहेको बताए । गफ र भाषणले समृद्ध मुलुक निर्माण हुन नसक्ने बताउँदै उनले अब आर्थिक रुपान्तरण, सामाजिक रुपान्तरणको आवश्यक्ता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्