काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनका विरुद्धमा लाग्नेले भ्रम फैलाएको बताएका छन् ।आजदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको सफलताको शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।
सोही कार्यक्रममा बोल्दै रापप्रा अध्यक्ष राजेन्द्र लिङदेनले गाउँघरमा नेता पुग्दा कुनचाहिँ चोर आएको टिप्पणी गरेपछि अध्यक्ष प्रचण्डले त्यो गलत कुरा भएको बताए । प्रतिगामी तत्वहरुले गाउँघरमा भ्रम फैलाएर गलत कुरा गरिरहेको उनले बताए ।
अध्यक्ष प्रचण्डले नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भए पनि यी सबैले एकले अर्कालाई प्रधानमन्त्री बनाएको बताएका छन् । उनले सहकार्यको संस्कार अनुसार एकले अर्कालाई प्रधानमन्त्री बनाएका कारण नेपालमा पूर्वप्रधानमन्त्रीको संख्या धेरै भएको बताए ।
पूर्ववक्ता भारतीय जनता पार्टीका नेता हर्षवर्धन मिश्राले एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देख्न पाएको भन्दै गरेको टिप्पणीप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘उहाँ भर्खरै यहाँबाट गइसक्नु भएको छ, म उहाँलाई यी सबै पूर्वप्रधानमन्त्री एकले अर्कालाई बनाएका हुन् भन्न चाहन्थेँ ।’
उनले नेपालमा यस प्रकारको अनौठो संस्कृति विद्यमान रहेको पनि बताए । आफूहरुले आपसमा प्रतिस्पर्धा पनि गर्ने गरेको बताउँदै जरुरी पर्दा एकले अर्कालाई प्रधानमन्त्री पनि बनाउने गरेको बताए ।