Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

३८० मत खस्यो, प्रधानमन्त्री देउवाले गरे मतदान


2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ । विभिन्न पदका लागि भइरहेको निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

पार्टीको १४औँ महाधिवेशने मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्धय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा. रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् ।

अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । दिउँसो १ः३० बजेसम्म राष्ट्रिय सभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनमा ४ हजार ७०० भन्दा बढी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । कांग्रेस प्रतिनिधिले सभापति सहित दुई उपसभापति, दुई महामन्त्री र समावेशी सहित आठ सह–महामन्त्रीका लागि पदाधिकारीमा मतदान गर्नुपर्नेहुन्छ ।

मतदानबाट खुल्ला ३५, महिला, मधेसी र दलित ९–९, हरेक प्रदेशबाट ३ जना सहित २१, आदिवासी जनजाति १५, खस आर्य १३, थारु ४, मुस्लिम ३ र पिछडिएको क्षेत्र, अपाङ्ग र अल्पसङ्ख्यकबाट १–१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

कांग्रेसको कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य निर्वाचित सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट मनोनीत हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्