Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

पहिलोचरणमै विजयी हुने सभापतिका उम्मेदवारको दावी


7.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान भइरहेको छ । महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दावी गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने उनले बताए ।

सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिले आफूले जित्ने प्रवल सम्भावना रहेको दावी गर्दै १३औँ महाधिवेशनमा सभापतिको लागि अरुलाई मतदान गरेपनि यस पटक सभापतिमा आफैले आफूलाई मतदान गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

‘१३औँ महाधिवेशनमा अरुलाई नै मतदान गरेर छानेको थिए, यस पटक आफैलाई छानेको छु, त्यसैले उत्साही, खुशी छु’ निधिले भने ।

सभापतिका उम्मेदवार निधिले आफूले पार्टी सभापतिमा जितेको खण्डमा देश र जनताको अधिकार, लोकतन्त्र र आर्थिक सम्वृद्धिका लागि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मतदान प्रक्रियामा क्लस्टर अनुसार मतपत्र भएकोले मतदान गर्न सजिलो भएको प्रतिक्रिया उनले दिए ।

यस्तै सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो बिजयी सुनिश्चित रहेको दावी गरेका छन् । पार्टीका पुराना तथा नयाँ पुस्ताको समर्थन आफूलाई नै भएको बताउँदै उनले सभापतिमा विजयी हुने दावी गरेका छन् ।

सभापतिका युवा उम्मेदवार रहेका कल्याण गुरुङले आफू विजयी हुने दावी गरेका छन् । महाधिवेशन प्रतिनिधि तथा कांग्रेसका युवा नेताहरुले नेतृत्व परिवर्तन हुनुपर्ने माग गर्दै आइरहेकाले पार्टीको नेतृत्व आफू जस्तो युवाहरुले गर्ने सुनिश्चित रहेको उनले बताए ।

अहिले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि भृकृटीमण्डमा मतदान जारी छ । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको छ । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण ढिला सुुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फूलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

भृकुटीमण्डमा जारी मतदानपछि पत्रकारसँग कुरा गर्दै उपसभातिका उम्मेदवार विजयकुमार गच्छदारले पार्टी सभापतिमा पहिलो चरणमै प्रधानमन्त्री शेरबहादुर देउवाले सभापति जित्ने दाबी गरेका छन् ।

मतदान ढिलो गरी सुरु भए पनि निर्वाचन समितिले छोटो समयमा प्रभावकारी व्यवस्थापन गरेको र आज रातिसम्ममा मतदान गरेर सकिने जानकारी उनले दिए । गृहमन्त्री तथा केन्द्रिय सदस्यका उम्मेदवार बालकृष्ण खाँडले प्रधानमन्त्री देउवाले पहिलो चरणमै पार्टी सभापतिमा जित्ने जिकिर गरेका छन् ।

‘सभापतिमा उहाँले जित्ने धेरै आधार छन् । पहिलो प्यानल बलियो छ र दोस्रो नेता कृष्णप्रसाद सिटौलाको समूह उहाँसँगै छ’ उनले भने ।

पार्टीलाई एक ढिक्का बनाउँदै राष्ट्रिय सहमतिका साथ सबै दललाई मिलाएर आम निर्वाचनमा लैजाने क्षमता सभापति देउवासँग मात्रै भएको दावी उनको छ । आगामी निर्वाचनसम्म यही गठबन्धन रहिरहने उनले बताए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्