काठमाडौं । सक्रिय हुन नसकेको भनेर आलोचना खेपिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाएको छ । मंगलबार उसले एकै दिन ३ वटा मुद्दा दायर गरेको छ भने दुई ठाउँमा छापा हानेको छ ।
आयोगले नेपाल बिद्युत् प्राधिकरणको लहान वितरण केन्द्रका लेखाप्रमुख विष्णु प्रसाद गुप्ताविरुद्ध मुद्दा दायर गरेको छ । अवकाशप्राप्त कर्मचारीले बिमावापत पाउने सुविधा उनले हिनामिना गरेको आयोगले जनाएको छ । सुविधावापतको रकम हिनामिना गरेको आयोगले जनाएको छ ।
बर्दियाको राजापुर नगरपालिका– ८ का मनमाया चौलागाई आचार्य र उनका श्रीमान मनिलाल आचार्यविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । शिक्षक सेवा आयोगले २०७४ सालमा सञ्चालन गरेको प्राथमिक तह तृतीण श्रेणीको परीक्षामा उनीहरुले एक अर्काको नामबाट परीक्षा दिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो ।
महोत्तरीको साविकको नमुना गाविसका तत्कालिन सचिव नागेश्वर राय यादबविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । उनले कीर्ते भरपाई बनाई समाजिक सुरक्षा भत्ताको १२ लाख ८६ हजार रुपैयाँ हिनामिना गरेको आयोगले जनाएको छ ।
आयोगले मंगलबार नै दुई स्थानीय तहमा छापा हानेको छ । भक्तपुरको चाँगुनारायण तथा सुनसरीको भाक्राहा नरसिंह गाउँपालिकाकामा आयोगले छापा हानेको हो । खरिदमा अनियमितताको आशंकामा छापा हानिएको आयोगले जनाएको छ ।