काठमाडौं । नक्कली लालपुर्जाका आधारमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको घटनामा बैंकिङ कसुर मुद्दा नचलाउने निर्णय विशेष सरकारी वकिल कार्यालयले गरेको छ । पर्याप्त प्रमाण हुँदा हुँदै पनि दबाब र चलखेलका आधारमा सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको हो ।
जबकी यसअघि सरकारी वकिल कार्यालयले नै यसमा बैंकिङ कसुर मुद्दा आकर्षित हुने भन्दै त्यसअनुसार अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । तर, उच्च तहमा भएको सेटिङपछि मुद्दा नचलाउने निर्णय भएको हो ।
बैंकले कर्जा उठाउने सुनिश्चितता गरेको अवस्था देखिएको भन्दै बुधबार सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो । यसअघि नै प्रहरीमा समेत गृह मन्त्रालयबाट सो मुद्दाको अनुसन्धानका लागि दबाब गएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकका कर्मचारीसहित १३ जनाविरुद्ध बैंकिङ कसुर मुद्दा चलाउन रायसहितको सिफारिस गरेको थियो । तर, विशेष सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरी पक्राउ परेकालाई हाजिरी जमानीमा छाड्न प्रहरीलाई निर्देशन दिएको छ ।
यही प्रकरणमा यसअघि केही अभियुक्तविरुद्ध लिखत किर्तेसम्बन्धी मुद्दा दायर भइसकेको छ । जसमा कुमारी बैंकको वीरगन्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, नक्कली लालपुर्जाका आधारमा कर्जा लिने एसकुमार महर्जन र मुक्तिलाल गौतमलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो । त्यतिवेला पक्राउ परेका धितो मूल्यांकनकर्ता अजय चौरसियालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । पक्राउ परेका अर्का अभियुक्त कुशन प्रधान अस्पतालमा भएकाले उनीविरुद्ध मुद्दा नै दायर हुन सकेको छैन ।
यस्तो थियो घोटाला
अपराधको प्रकृति बैंकिङ कसुरसँग समेत मिल्ने भएको भन्दै यससम्बन्धी अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले निर्देशन दिएपछि सोही आधारमा सिआइबीले थप छानबिन गरेको थियो । महान्यायाधिवक्ता कार्यालयमातहतकै विशेष सरकारी वकिल कार्यालयले भने मुद्दा नचलाउने निर्णय गरेको छ ।
गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरमा रहेको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड कर्जा प्रवाह भएको हो । सो कम्पनीले बैंकको न्युरोड शाखामा कर्जाका लागि निवेदन दिएको थियो । शाखाले धितो मूल्यांकन गरेर पठाउन वीरगन्ज शाखालाई पत्राचार गरेको थियो । वीरगन्ज शाखाका कर्मचारी सोनु ठाकुरले धितो मूल्यांकनको नक्कली कागजपत्रमा हस्ताक्षर गरेका थिए । कर्जा दिने अन्तिम निर्णय भने केन्द्रीय कार्यालयबाटै भएको थियो । जसमा बैंकका कर्मचारीद्वय अजित राई र गोपाल जोशीको प्रमुख कमजोरी देखिएपछि उनीहरूविरुद्ध मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो ।
अमात्यले आफ्नो जग्गाको नक्कली लालपुर्जा राखेर कर्जा प्रवाह भएकोे सुनेपछि त्यसबारे अनुसन्धानका लागि निवेदन दिएका थिए । अनुसन्धानको क्रममा उनको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा प्रवाह भएको भेटिएको थियो । मालपोत कार्यालयमा भने सो जग्गा अमात्यकै नाममा छ । नक्कली लालपुर्जा भएको खुलेपछि पछि बैंकले अर्को धितो राखेर कर्जा उठाउने प्रयास गरेको हो । त्यही आधारमा हाल मुद्दा नचलाउने निर्णय भएको हो ।
तर, कम्पनीको नाममै नआएको जग्गामा कर्जा प्रवाह भएको, धितो बन्धकसम्बन्धी कागजपत्रमा मालपोतको सट्टा नगरपालिकाको छाप भएको, हदबन्दीभन्दा धेरै रहेको जग्गामा कर्जा प्रवाह भएको जस्ता विषयमा बैंकको चरम लापरवाही देखिएको थियो । यही प्रकरणपछि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिना छानबिन नसकिएसम्मका लागि बिदामा बसेका थिए । उनलाई पनि अब जागिर जोगाउन सहज भएको थियो । आफुलाई साथी कुशन प्रधानले फसाएको उनले बताउने गरेका छन् ।