Logo
Logo

जाततन्त्र राजतन्त्रभन्दा पनि खतरा : विश्वकर्मा


1k
Shares

वीरगञ्ज । राष्ट्रिय दलित पत्रकार संघ पर्साको कार्यालय एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्याङ्कीस्थित कार्यालयको प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य एवं संसदीय दलका प्रमुख सचेतक सुन्दर विश्वकर्माले उद्घाटन गरेका हुन् ।

संघका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएको कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य विश्वकर्माले जाततन्त्र राजतन्त्रभन्दा पनि खतरा रहेको बताए ।

राजतन्त्र अन्त्य भएपनि समाजबाट जातीय व्यवस्था व्यावहारिक रुपमा निर्मुल हुन नसक्दा दलित समुदाय उपेक्षामा पर्दै आएको उनले बताए । विगतमा अपमानपूर्वक हुने विभेदको स्वरुप परिवर्तन भएर सम्मानपूर्वक विभेदको रुप लिएको प्रदेश सभा सदस्य विश्वकर्माले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले प्रशासनतर्फ पनि दलितको सहभागीता बढाउनका लागि सरकारले दलित आरक्षणको व्यवस्था गरेको बताए ।

समयको विकासक्रमसँगै मानिसको मानसिकता पनि विकास हुने क्रममा रहेको हुँदा विस्तारै जातिय व्यवस्था व्यवहारिक रुपमा पनि अन्त्य हुने पौडेलको विश्वास छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध कुमार गुप्ताले जातिय विभेदको विरुद्धमा जनतालाई जागरुप बनाउनुपर्नेमा जोड दिएका छन् । दलित पत्रकार संघसँग सहकार्य गरेर जातीय व्यवस्थाको विषयमा बहस गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न संघलाई सुझाव दिँदै संघका हरेक गतिविधिमा सहयोग गर्ने डा. गुप्ताले प्रतिबद्धता व्यक्त गरे । समाजको तितो यथार्थको विरुद्धमा दलितका आवाजलाई दलित पत्रकारले नै उठान गर्नुपर्नेमा गुप्ताको जोड थियो ।

नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले मानसिकतामा परिवर्तन नआएसम्म जातीय विभेदजस्ता विकृतीको अन्तय नहुने बताए ।

यस्तै पहुँचमा पुगेका दलितहरु नै शासक बन्दा पनि दलित समुदायको उत्थान हुन नसकेको नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीको बताए । निर्वाचित जनप्रतिनीधि, राजनीतिक दलका प्रतिनिधि एवं बाहिर समानताका कुरा गर्नेहरुले नै छुवाछुत र जातीय विभेदलाई अंगीकार गर्दा परिवर्तन हुन नसकेको भन्दै अन्सारीले चिन्ता व्यक्त गरे ।

जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमदले देशमा अँझै पनि जातीय विभेदको विषयमा बहस हुनु दुखद विषय भएको बताए । समानता र समावेशिताको विषयमा जसपाले विगतदेखि नै आवाज उठाउँदै र दलितलाई पनि अवसर प्रदान गर्दै आएको अहमदको दावी छ ।

प्रतिक्रिया दिनुहोस्