Logo
Logo

मागअनुसार विद्युत आपूर्ति गर्न नसकेको त्रिवेणीद्वारा स्वीकार


नन्दा थापा

315
Shares

बाजुरा । त्रिवेणी साना जलविद्युत केन्द्र मार्तडीले उपभोक्ताको माग अनुसार विद्युत आपूर्ती गर्न नसकिएको स्वीकार गरेको छ । आफ्नो सेवा क्षेत्र रहेको बडिमालिका नगरपालिका क्षेत्रभित्र मात्र एक हजार किलोवाट बढी विद्युत माग भइरहेकोले आपूर्ती गर्न नसकेको जलविद्युत केन्द्रले जनाएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा त्रिवेणीले २ सय किलोवाट क्षमताको विद्युत बढाउन नसकेकाले लोड सेडिङ गर्नु परेको जानकारी दिएको हो । ममार्तडीको विद्युत केहीय एक दशक यता त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरिरहेको छ ।

सहकारीका अध्यक्ष अशोक रावलले बजारमा जति माग छ, त्यो अनुसार आपूर्ती गर्न नसकिने भएकोले विद्युत प्राविधिकरणसँग थप विद्युत खरिद गर्न प्रक्रिया सुरु गरिएको बताए । सडक बाटोमा गाडिएका पोलमा भएको क्षति पछि प्राधिकरणलाई लाइन विस्तारमा ढिलाई भएपनि मार्तडी सब कार्यालयमा विद्युत जडान लगत्तै सम्झौता गर्ने जानकारी दिए ।

वर्षौ पुरानो विद्युत मेसिन खरिद गर्न नसकिएको र विद्युतको नहर मर्मतका लागि समेत ठूलो लगानी आवश्यक भएकोले सहकारीले सबै खर्च बेहोर्न गाहो भएको उनको भनाइ थियो ।

सेवा दिन नसकिने भए प्राधिकरणलाई फिर्ता दिन किन ढिलाई भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष रावलले प्राधिकरणसँगकै परामर्शमा विद्युत थप गरेर सेवाका लागि सहकारीले नै जिम्मालिने तयारी थालिएको बताए ।

हाललाई विहान ५ देखि साढे ९ र बेलुका पनि ५ देखि साढे ९ बजेसम्म लोड सेडिङ गर्नु पर्ने बाध्यता भएकोले अब प्रत्येक ग्राहकलाई दैनिक लोड सेडिङ तालिका एसएमएस मार्फत जानकारी गराउने व्यवस्थापक गगन अयडीले बताए ।

देश लोड सेडिङ मुक्त भइरहेको बेला बाजुरामा अँध्यरोमा बस्नु पर्ने र लोड सेडिङ तालिम बारे जानकारी गराउनुपर्ने अवस्था भएको उनको भनाइ थियो । सेवाग्राहीले उज्यालो पाउनु पर्ने माग राख्दै त्रिवेणीमाथि आक्रोश पोख्दै आएका छन् ।

त्रिवेणीले प्राधिकरणले निर्धारण गरेको भन्दा बढी विद्युत महसुल असुली गर्दै आएको छ । विद्युत सम्झौता गर्दा प्राधिकरणकै मूल्यमा उपभोक्तालाई विजुली दिने सहमति गरेपनि आफ्नो नियम बनाएर थप रकम असुली गर्ने गरेकोमा समेत स्थानीय आक्रोशीत बनेका छन् ।

यो वर्षको पुसबाट प्राधिकरणकै विद्युत महशुल दरमा विद्युत दिने समेत पत्रकार सम्मेलनमा त्रिवेणीले जानकारी गराएको छ । सचिव शेरबहादुर रावलले सञ्चालन गरेको पत्रकार सम्मेलनमा अध्यक्षसहित पदाधिकारीले आफूहरुले विद्युत अनियमित गर्ने र रकम असुली गर्ने नियत नराखेकोले भ्रममा नपर्ने समेत आग्रह गरेका छन् ।

त्रिवेणीले निर्धारित २० युनिटको महशुल ८० रुपैया राखेको छ । भने प्राधिकरणले ३० रुपैया राखेको छ । उपभोक्ताले ५० रुपैया आधारभुत महशुल दरमै बढी तिर्नु पर्ने बाध्यता छ । हाल त्रिवेणीसँग २ हजार १ सय ७४ जना विद्याुत उपभोक्ता रहेका छन् ।

महशुलमै ठगी गरेको आरोप उपभोक्ताको छ । त्रिवेणीको सेवामा हैरानी बेहोर्न बाध्य उपभोक्तालाई सहकारीका पदाधिकारीले भने सुधारका लागि प्रयास जारी रहेको भन्दै आश्वस्त पार्ने काम गरिरहेको छ । विद्युत सेवा अनियमित हुँदा दैनिक कामकाज प्रभावित बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्