Logo
Logo

हामीविरुद्ध अपवित्र गठजोड भयो, तर पनि हामी लड्यौँ : शेखर कोइराला


7.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा पराजित भएका नेता शेखर कोइरालाले १४औँ महाधिवेशनमा पार्टीमा यथास्थिति चाहनेहरुको अपवित्र गठजोड भएको बताएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै नेता कोइरालाले अपवित्र गठजोडले चुनावमा पराजित भएपनि राजनीतिमा भने आफ्नो जित भएको बताएका छन् ।
‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नका लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग उर्जावान युवाहरुको समूह थियो’ उनले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौँ ।’

उनले पार्टी सभापतिमा पराजित भएपनि लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको समेत कोइरालाले बताएका छन् । उनले भनेका छन्, ‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरुबीच हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौँ, भरोसा र विश्वास वृद्धि गराएका छौं ।’

आफूले पाएको मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको उनको भनाइ छ ।
‘वर्तमान सभापति शेरबहादुर देउवासँग मात्र हामी प्रतिस्पर्धा गरिरहेका थिएनौँ । पार्टीभित्र हुर्केको र झ्याङ्गिएको अराजनीतिक प्रवृति, गलत संस्कृति र संस्कारविरुद्ध हामी लडिरहेका थियौँ’ विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधान बिपरित हुने निर्णयविरुद्ध आफूले पार्टीको १४औँ महाधिवेशनको प्रतिस्पर्धा गरेको बताउँदै नेता कोइरालाले भनेका छन्, ‘पार्टीभित्र यथास्थितिवादी र परिवर्तनकारीबीच थियो । हामी परिवर्तनकारी शक्ति थियौँ । हामीसँग निष्ठावान कार्यकर्ताहरूको भरोसा र विश्वास थियो ।’ उनले अब काँग्रेसलाई एक ढिक्का बनाएर चुनाव जानुपर्नेमा समेत जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्