Logo
Logo

काँग्रेस पदाधिकारीको मतपरिणाम सार्वजनिक : यस्तो बन्यो ‘टिम’


3k
Shares

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । केन्द्रीय सदस्यको मतगणना बाँकी हुँदा पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका काँग्रेस सभापति शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको छ । देउवा नेतृत्वको १३ सदस्यीय पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको हो ।

विभिन्न प्यानलमा निर्वाचन सम्पन्न भए पनि पदाधिकारीमा भने सबैको प्रतिनिधित्व देखिएको छ । दोस्रो चरणको निर्वाचनबाट पार्टी सभापतिमा देउवा निर्वाचित हुँदा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।

त्यसैगरी काँग्रेस महामन्त्रीमा चर्चित युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, भीष्मराज आङ्देम्बे, बद्री पाण्डे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ ।

दुईबाहेक सबै नयाँ अनुहार

काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित १३ पदाधिकारीमा दुई जनाबाहेक सबै नयाँ अनुहार हुनुहुन्छ । निर्वाचित पदाधिकारीमध्ये सभापति देउवा र उपसभापति खड्का मात्रै यसअघि पदाधिकारीमा हुनुहुन्थ्यो ।

अघिल्लो कार्यसमितिमा उपसभापति बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र सुनिल थापा हुनुहुन्थ्यो । अघिल्लो कार्यसमितिमा रहे पनि शशांक कोइराला, सीतादेवी यादव र सुनिल थापा १४ औँ महाधिवेशनमा पदाधिकारीको चुनावी प्रतिस्पर्धामा सहभागी हुनुभएन । १४ औँ महाधिवेशनमा सभापतिमा लड्नुभएका बिमलेन्द्र निधि र प्रकाशमान सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गर्नुभयो । उपसभापति उम्मेदवार विजयकुमार गच्छदार र महामन्त्री उम्मेदवार प्रकाशशरण महत भने पराजित हुनुभएको छ ।

काँग्रेस पदाधिकारीमा कोषाध्यक्षको मनोनयन हुन्छ । विधानको व्यवस्था अनुसार सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले कोषाध्यक्षलाई मनोनित गर्छ । काँग्रेस सञ्चालनका लागि पदाधिकारी सबैभन्दा महत्वपूर्ण निकाय हो । काँग्रेस विधान अनुसार पार्टीको निर्णयको अनुमोदन भने केन्द्रीय कार्यसमितिले गर्छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता केशव रिजालका अनुसार पदाधिकारीको मतगणना सम्पन्न भएपछि केन्द्रीय सदस्यको मतगणना सुरु हुँदैछ । ‘सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भएपछि केन्द्रीय सदस्यको मतगणना सुरु हुँदैछ’, उहाँले भन्नुभयो, ‘सुरुमा प्रदेश नम्बर २ को महिला केन्द्रीय सदस्यबाट मतगणना गर्ने तयारी छ ।’

मङ्सिर २४ गते राजधानीको भृकुटीमण्डमा उद्घाटन भएको काँग्रेस महाधिवेशनको सबै नतिजा सार्वजनिक हुन अझै केही दिन कुर्नुपर्ने देखिन्छ ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्