Logo
Logo

‘नेतृत्व चयनमा हस्तक्षेप गरियो भन्ने आरोप झुट हो’


3.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न तहका सम्मेलनअन्तर्गत नेतृत्व चयनमा हस्तक्षेप गरेको भन्ने आरोप लागेपछि खण्डन गरेका छन् ।

केही सञ्चारमाध्यमले माओवादी केन्द्रको आन्तरिक प्रतिस्पर्धामा हस्तक्षेप भएकोे टिप्पणी हुन थालेपछि शनिबार प्रचण्डको सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै ‘त्यो टिप्पणी झुटो भएको’ जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी पद्धतिलाई बुझेर वा नबुझेर कतिपय पक्षबाट नेतृत्वले हस्तक्षेप गरेको भन्ने टिप्पणी सार्वजनिक भएका छन्, यो एकदम गलत कुरा हो । यसमा पार्टी नेतृत्वले कुनैपनि हस्तक्षेप नगरेको र नगरिने बेहोरा पनि अवगत गराउँदछौँ ।’

सदस्यता नवीकरणबाट सुरु गरेको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी अहिले राष्ट्रिय सम्मेलनको नजिक पुगिएको जानकारी माओवादी केन्द्रले जनाएको छ ।

यसक्रममा ‘विचार, सिद्धान्त र नीतिमा होइन, नेतृत्वमा मात्र केन्द्रित भएर सम्मेलन वा महाधिवेशन गर्ने बुर्जुवा परिपाटीबाट माथि उठाई उल्लेखित विषयमा छलफल, बहसमार्फत सही विचार र राजनितीक दिशाअनुसार त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व निर्माण गर्ने पद्धति अनुशरण गर्दै आएको’ माओवादी केन्द्रले जनाएको छ ।

प्रचण्डको सचिवालयद्वारा जारी विज्ञप्ति

हाम्रो पार्टीले सदस्यता नवीकरणबाट सुरु गरेको पार्टी सुदृढीकरणको अभियान सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलन सम्पन्न गरी राष्ट्रिय सम्मेलनको नजिक पुगेको छ ।

हाम्रो पार्टीले विचार, सिद्धान्त र नीतिमा होइन, नेतृत्वमा मात्र केन्द्रित भएर सम्मेलन वा महाधिवेशन गर्ने बुर्जुवा परिपाटीबाट माथि उठाई उल्लेखित विषयमा छलफल, बहसमार्फत सही विचार र राजनितीक दिशाअनुसार त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व निर्माण गर्ने पद्धति अनुशरण गर्दै आएको छ। यद्यपि यसलाई समयानुकूल परिष्कृत गर्ने चुनौती पनि हामीले सामना गर्दै आएका छौँ ।

हामीले सम्मेलनमा अवलम्बन गरिरहेको विधिको बारेमा केही टिप्पणीहरू सार्वजनिक भएका छन् ।
हामीले अहिले सबै सम्मेलनहरूबाट अधिकतम सहमतिको माध्यमबाट नेतृत्वको टिम निर्माण गर्ने र त्यसरी चयन भएको टिमले आफ्नो पदाधिकारी सकेसम्म सहमतीय निर्वाचन विधिमा र सहमतीय विधिबाट नभए बहुमतीय निर्वाचनको माध्यमबाट नेतृत्व निर्माणको बाटो खुला गरेको छ ।

हाम्रो पार्टी पद्धतिलाई बुझेर वा नबुझेर कतिपय पक्षबाट नेतृत्वले ‘हस्तक्षेप’ गरेको भन्ने टिप्पणी सार्वजनिक भएका छन्। यो एकदम गलत कुरा हो । पार्टी बाहिर र भित्रका कमरेडहरू समेत यो कुरामा स्पष्ट हुन जरुरी छ कि कुनै पनि सम्मेलनहरू नेतृत्व निर्माणको क्रममा जनवादी केन्द्रीयताको अभ्यास गर्न स्वतन्त्र छन् । उनीहरूले निर्धारित नीति विधिभित्र रही आफ्नो अधिकारको प्रयोग गरून् । र, छिटोभन्दा छिटो प्रदेश सम्मेलनको बाँकी काम पूरा गरी यही ५ गतेभित्र आवश्यक विवरणसहितको प्रतिनिधि सूची केन्द्रीय कार्यालयमा पेस गरून् ।

यसमा पार्टी नेतृत्वले कुनै पनि हस्तक्षेप नगरेको र नगरिने बेहोरा पनि अवगत गराउँदछौँ ।

प्रतिक्रिया दिनुहोस्