Logo
Logo

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा उधौली पर्वको शुभकामना


693
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई किरातहरूको महान पर्व उधौली र नेवारहरूको पर्व यःमरि पुन्हीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आइतबार शुभकामना सन्देश जारी मुख्यमन्त्री राईले देश, विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी सबैमा हार्दिक शुभकामना व्यक्त गरेका हुन् । देश तथा विदेशमा छरिएर रहेका किरात समुदायले आज उधौली एवं चासोक तङनाम पर्व मनाउँदैछन् ।

किराँत मान्यताअनुसार मार्ग शुक्ल पूर्णिमाको दिनदेखि हिउँद(जाडो) शुरु हुन्छ र यसै दिनदेखि न्यानोको खोजीमा पशुपन्छी, विभिन्न जीवजन्तु लेकबाट बेसीतिर उँधो झर्ने गर्छन् । त्यसै भएकाले यस दिन मनाइने पर्व(साकेला)लाई उधौली भनिएको हो ।

उधौली पर्व अन्नबाली भित्र्याएपछि अथवा अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइन्छ । यस पर्वमा मूलतः प्रकृति, भूमि, पितृहरू आदिको पूजा गरिन्छ । त्यसैगरी यो पर्वमा आफ्नो मौलिक भेषभूषा लगाउने, ढोल, झ्याम्टा बजाएर साकेला(चण्डी) गीत गाउने, नाच्ने गरिन्छ ।

नेवारहरूले मनाउने यःमरि पुन्हि पर्वका दिन चामलको पिठोभित्र चाकु, तिल, खुवा आदि राखेर विशेष प्रकारको रोटी बनाएर खाने गरिन्छ । यस्तो रोटीलाई नेवारी भाषामा ‘यःमरि’ भनिन्छ । यही यःमरि खाएर मनाइने पर्व भएकाले यःमरि पुन्हि भनिएको हो भन्ने भनाइ पनि छ ।

मुख्यमन्त्री राईले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘उधौली र यःमरि पुन्हि जस्ता पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्, यी पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने कामना र अपेक्षासहति फेरि पनि सन्सारभरि फैलिएर रहेका तमाम नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई उधौली र यःमरि पुन्हिका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्