Logo
Logo

सर्वदलीय बैठकमा एमाले सहभागी नहुने


2k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकप्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । सर्वदलीय बैठकमा एमाले सहभागी नहुने एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । सर्वदलीय बैठकबाट आफूहरुको माग सम्बोधन हुन नसक्ने भएकाले सहभागी हुन नसकिने उनको भनाई छ ।

प्रवक्ता गुरुङले भने, ‘सर्वदलीय बैठकको आवश्यक्ता नै छैन् । कांग्रेस र एमालेबीच दुई पक्षीय बैठक वा छलफल भयो भने हामी जान्छौं । एकीकृत समाजवादी, माओवादी केन्द्र सहितको बैठकमा जान आवश्यक नै छैन् ।’

एमालेले उठाउँदै आएको माग अहिलेसम्म सम्बोधन नभएकाले संसद अवरुद्ध गर्दै आएको छ । पार्टीले कारवाही गरेका सांसदको सूचना सभामुख अग्नि सापकोटाले टाँस नगरेको आरोप लगाउँदै एमालेले संसद अवरुद्ध गर्दै आएको हो ।

प्रधानमन्त्री देउवाले आइतबार (आज) दिउँसो ४ बजे सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन् । एमालेद्धारा भइरहेको संसद अवरोध, एमसीसी सम्झौता लगायतका बिषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक आहववान गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस अघि प्रधानमन्त्री देउवालाई भेटेर सर्वदलीय बैठक बोलाउँन सुझाव दिएका थिए । अध्यक्ष प्रचण्डसहित सत्तारुढ दलको सल्लाहमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय महत्वका बिषयमा छलफल गर्न खोजेका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दल तथा पूर्वप्रधानमन्त्रीहरु समेत सहभागी हुने बैठकमा छलफल गरेर निकास खोज्ने उदेश्यले बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस अघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्