Logo
Logo

मौलिक संस्कृतिको संरक्षण गर्नु साझा दायित्व हो : प्रधानमन्त्री


819
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकतालाई मजबुत तुल्याउने बताएका छन् ।

अठारौँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले वसन्तपुर डबलीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले परम्परागत नेपाली मौलिक सम्पदा र संस्कृतिलाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताए ।

प्रधानमन्त्री देउवाले नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र सांस्कृतिक सम्पदा तथा सामाजिक बनोट विश्वभरमै नमूनाका रूपमा रहिआएको भन्दै विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समूहको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचानको गौरवमय संस्कृतिलाई जीवन्त राख्नु साझा दायित्व भएको उल्लेख गरे ।

उनले भने– ‘नेपाल विभिन्न जातजाति, भाषाभाषि, धार्मिक एवं सांस्कृतिक समुदाय मिलेर बनेको राष्ट्र हो । विभिन्न धर्म, समुदायका नागरिकबीच धार्मिक सहिष्णुता अभिवृद्धि गर्न ज्यापू दिवसजस्ता पर्वहरूले महत्वपूर्ण भूमिका खेलेका छन् ।’

प्रधानमन्त्री देउवाले ज्यापू समुदायको संस्कृति र सभ्यताको संरक्षणका लागि आगामी दिनमा उपलब्ध गराउनुपर्ने आवश्यक सहयोगका लागि सरकार तयार रहेको विश्वास दिलाए । उनले काठमाडौँ उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापू समुदाय लागिपरेको भन्दै यसले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सुरक्षित बनाएको बताए ।

प्रधानमन्त्री देउवाले नेपालको विभिन्न समुदायमध्ये ज्यापू समाज आफ्नै मौलिक संस्कृति, सम्पदा र पहिचान बनेको समाज भएको र समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको धारणा व्यक्त गरे ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नेपालको पहिलचानलाई विश्वभर प्रवद्र्धन गर्न ज्यापू समुदायको मौलिक संस्कृतिको महत्वपूर्ण योगदान रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्