काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुने अन्ततः निश्चित भएको छ ।हिमालयन बैंकको आइतबार बसेको बोर्ड बैठकले यससम्बन्धि औपचारिक निर्णय गरेको हो ।
यसअघि नै मर्जरबारे समझदारी भइसकेपनि हिमालयन बैंकले यस विषयमा औपचारिक निर्णय नगर्दा मर्जरको प्रक्रिया अवरुद्ध बनेको थियो । बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठको नेतृत्वमा बसेको बैठकले मर्जर प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ ।
जसअनुसार अब बैंकले आगामी शुक्रबारसम्म २१ दिनको समय राखेर साधारणसभा डाक्ने भएको छ। साधारणसभाको मुख्य एजेण्डा लाभांशसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने हुने एक सञ्चालकले बताए । मर्जर प्रकृया अवरुद्ध भएपछि राष्ट्र बैंकले हिमालयन बैंकको नगद लाभांश रोकेको थियो ।
यसअघि नै मर्जरका लागि दुई बैंकबीच समझदारी बनिसकेको छ । बराबरी हैसियतमा दुई बैंकको मर्जर हुने र नाम हिमालय नेपाल इन्भेष्टमेन्ट बैंक रहने भएको छ । मर्जपछि अध्यक्ष इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुने समझदारी भइसकेको छ । कर्मचारी समायोजनका विधिमा समेत सहमति भइसकेको छ । हिमालयन बैंकभन्दा इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब सुविधा कम भएकाले अब उनीहरुको सुविधा बढ्ने छ ।
यो मर्जर नेपालको बैंकिङ इतिहासमै ऐतिहासिक हुने नेपाल राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
कर्मचारी संचयकोषको हिमालयन बैंकमा १४ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकमा करिब १ प्रतिशत प्रमोटर शेयर छ । यस्तै, नागरिक लगानी कोषको नेपाल इन्भेष्टमेन्ट बैंकमा ३७ करोड ४९ लाख रुपैयाँ बराबरको संस्थापक सेयर छ ।
हिमालयन बैंकका काठमाडौं उपत्यकामा १८ र उपत्यका बाहिर ४७ गरी ६५ वटा शाखा छन् । यस्तै, काठमाडौं उपत्यकामा ४३ र उपत्यका बाहिर २९ गरी ७२ वटा एटिएम बुथ संचालनमा छन् ।
मर्जरपछि बैंकमा सर्वसाधारणको करिब ३ अर्ब रुपैयाँ निक्षेप हुनेछ भने २ खर्ब ५० अर्ब रुपैयाँको हाराहारीमा कर्जा तथा लगानी हुनेछ । बैंकमा सेयरधनीको सम्पत्ति ४७ अर्ब रुपैयाँको हाराहारीमा हुने देखिन्छ ।