Logo
Logo

वायुसेवा निगम निजीकरण हुँदैन : मन्त्री आले


315
Shares

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण नगर्ने बताएका छन् ।

नयाँ सडकस्थित निगमको मुख्यालयमा आयोजित निगम व्यवस्थापनसँगको अन्तरक्रियामा मन्त्री आलेले स्वार्थ समूहको प्रभावमा निगमलाई निजीकरण गर्ने खेल भएको भन्दै निगमलाई निजीकरणबाट रोकिने विश्वास व्यक्त गरे

स्मरणीय के छ भने निगमलाई कम्पनी मोडलमा लगेर निजीकरण गर्न खोजिएको भन्दै निगमभित्रका कर्मचारी सङ्गठनले १०४ दिनसम्म आन्दोलन गरेका थिए ।

निगमलाई कौडीको भाउमा बिक्री गरेर स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाउँदै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको राजीनामा मागेर उनीहरुले आन्दोलन गरेका थिए ।

जसका कारण महाप्रबन्धक पौडेल १०२ दिनसम्म कार्यालय पुग्न सक्नुभएको थिएन । पर्यटनमन्त्रीले कर्मचारी युनियनसँग सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो ।

कर्मचारीको भावनाबमोजिम निगमका कार्यकारी अध्यक्षमा निगमकै अवकासप्राप्त कर्मचारी युवराज अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो । निगमका महाप्रबन्धकलाई हाल मन्त्रालयमा हाजिर गराइएको छ ।

अधिकारीको नेतृत्वमा हाल निगमभित्र सुधारका काम भइरहेको छ । जुन तीनवटै कर्मचारी सङ्गठनका अध्यक्षले स्वयं बताइरहेका छन् ।

निगम व्यवस्थापन र कर्मचारीबीच पर्यटनमन्त्री आलेले निगमलाई निजीकरण नगर्ने घोषण गर्दै निजीकरण गर्ने प्रक्रियाबाट रोकेको मन्त्रालयको पत्र पढेर सुनाउनुभएको थियो । मन्त्रीको उक्त निर्णयलाई कर्मचारीले तालीले स्वागत गरेका थिए । यसअघिको व्यवस्थापनले निगमलाई निजीकरण गर्ने निर्णय गरी मन्त्रालयमा कार्ययोजना पठाएको थियो ।

पर्यटनमन्त्री आलेले एक हजार २०० भन्दाबढी कर्मचारी भएको निगममा साना ठूला गरी जम्मा आठ वटा मात्रै जहाज हुनु लज्जाको विषय हो भन्दै निगममा भएका जनशक्तिलाई कसरी उपयोग गरिन्छ भनी प्रश्न गरेका थिए । उनले भने, ‘विगतमा जहाज नउडाएर ग्राउण्डेड गराउँदा अहिलेको अवस्था आयो । मर्मतमा करोडौँ खर्च हुने देखिन्छ । त्यसैले अब निगममा जहाज थपेर प्रतिस्पर्धी बजारमा खरोरुपमा उत्रिन जरुरी छ ।’

उनले निगमका जहाजलाई अब पनि त्रिपाल हालेर घाममा सुकाउने नभई बढीभन्दा बढी व्यावसायिक गन्तव्यमा उडान विस्तारका लागि कार्ययोजनाका साथ प्रस्तुत हुन निगम व्यवस्थापनलाई निर्देशन दिए ।

पर्यटनमन्त्री आलेले निगमले सम्हाल्दै आएको भूमिस्थ सेवालाई निजी एयरलाइन्सलाई दिन नसकिने बताए । निगमको बढ्दो घाटा कम गर्न निगमको स्रोत, साधन र जनशक्तिलाई प्रभावकारीरूपमा परिचालन गर्दै आर्थिक मितव्ययिता अपनाउन आग्रह गरे ।

उनले निगमलाई सुधार्न र व्यवसाय प्रवद्र्धनका लागि जहाज खरिदलगायतका विषयलाई कार्ययोजनाका साथ मन्त्रालयमा पेश गर्न अनुरोध गर्दै त्यसलाई सम्बन्धित मन्त्रालयमा प्रक्रियागतरूपमा अघि बढाइने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्