काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बस्ने भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । शनिबार बैठक बस्ने भनिए पनि कति बजे बस्ने समय निर्धारण भएको छैन् ।
बैठक बस्नुअघि शुक्रबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखिएको छ ।
सोही दिन सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने छन् । १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारी तथा १२१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।
यस्तै ८ सहमहामन्त्रीमा किशोरसिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय (डिना), जीवन परिवार, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी र बद्री पाण्डे निर्वाचित भएका छन् । अहिलेसम्म पदाधिकारीसहित ९७ जनाको नजिता आएको छ ।
भोलि १ बजेसम्म सबै पदको मत गणना सक्ने र ९ गते प्रमाणपत्र वितरण गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सानेपामा केन्द्रीय सदस्यको ३७ सदस्यको मत गणना जारी छ ।