Logo
Logo

राजतन्त्र फर्कन्छ भन्ने भ्रम त्यागौँ : विश्वप्रकाश


252
Shares

झापा । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्र फर्कन्छ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि गृह जिल्लामा शर्माले आभार कार्यक्रमको आयोजना गर्दै नेपालीले राजतन्त्र पनि खेपिसकेको बताए ।

‘राजालाई हामीले नबोकेको हो र ? भागेर दिल्ली गएका राजालाई काँधमा बोकेर ल्याउने पनि कांग्रेस, राजा वीरेन्द्रको वंशनास हुँदा ढुंगामुडा सहेर पनि गद्दी बसाउने कांग्रेस,’ उनले भने ।

उनले अहिलेको व्यवास्था ठीक भएको बताए । उनले भने, ‘कोही जनताको छोरी राष्ट्रपति बनिन् । मधेशमा हुर्किएका रामवरण यादव यो देशको राष्ट्रपति भए । के मधेसको सम्मान र स्वाभिमान बढेको छैन ? भोजपुरको गाउँमा कम्युनिस्ट आन्दोलनकी सदस्य भएर काम गरिरहेकी विद्या भण्डारी देशको राष्ट्रपति बन्दा महिलाको सम्मान र स्वभिमान बढेको छैन ? राजतन्त्र फर्काउनु भनेको यो देशमा कहिले दलितको छोराले राष्ट्रपति बन्न नपाउनु हो ।’

उनले कुनै राजनीतिक दलको नेतालाई राजतन्त्र फर्कने भ्रम भए त्याग्न आग्रह गरे। राजतन्त्र फर्कने र अन्य कुनै राजनीतिक व्यवस्था ल्याउने सपना नदेख्न उनले आग्रह गरे। यस्तै, एक दलीय कम्युनिस्ट व्यवस्थामा जान कोही पनि तयार नहुने बताए ।

कम्युनिस्ट शासनले देश बनाउन नसक्ने उनले बताए । जसको उदाहण उत्तर कोरिया भएको उनले बताए । यस्तै, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीबाट पनि देशको विकास हुन नसक्ने उनको भनाइ छ ।

‘संसदीय लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएर आएको प्रधानमन्त्रीले जबरजस्ती गरेर दुईपटक संसद विघटन गरेको होइन ?’ उनले प्रश्न गरे, ‘एउटा व्यक्तिमा सम्पूर्ण अधिकार र शक्ति केन्द्रित गर्दा के हुन्छ ? अहिलेको संसदीय व्यवस्थामा केही कमजोरी र खराबी छन् । यसलाई सुधार गरेर जानुपर्छ।’

उनले अहिलेको व्यवस्थाले सबैलाई समेट्ने बताए । ‘यो व्यवस्थामा राजतन्त्र जिन्दावाद र गणतन्त्र मुर्दावाद भन्न पनि पाइन्छ,’ उनले भने, ‘बन्दुक बोक्ने प्रचण्ड पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ । पञ्चायत जिन्दावाद भनेर हिँडेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्