Logo
Logo

एमालेमा नयाँ गुटमार्फत ‘पावर एक्सरसाइज’


97.3k
Shares

काठमाडौं । दशौँ महाधिवेशन सम्पन्न भएपछि नेकपा (एमाले)भित्र गुटको विकास फरक ढंगले भइरहेको छ । केपी शर्मा ओलीलाई नेता मान्नेहरूबीच दुई गुटको तीव्र अन्तरविरोध शुरु भएको छ । अर्कोतर्फ, १० बुँदे पक्षधर र पूर्वमाओवादीहरू कता र कसरी लाग्ने भन्ने कुराले नयाँ–नयाँ घटानाक्रम विकास गरिरहेको छ ।

महाधिवेशन हलमा अध्यक्ष ओलीद्वारा प्रस्तुत पदाधिकारी सूची, निर्वाचनका क्रममा वितरित चिर्कटो र हालै जारी गरिएको मर्यादाक्रमसम्मका विवादले एमालेलाई फेरि गुटहरूकै मोर्चामा परिणत गर्दै लगेको छ ।

अध्यक्ष ओली आगामी ११औँ महाधिवेशनसम्म आफ्नो प्रभुत्व कायम राख्नका निम्ति आफ्ना मान्छेलाई तलमाथि पार्न तयार नहुँदा त्यस्तो स्थिति आएको हो ।

ओली बालकोटमा आफ्नो कोटरीका मान्छेसँग बसेर यावत योजना बनाउने र तिनै योजनालाई पार्टीको संस्थागत निर्णयका रुपमा सार्वजनिक गर्ने काममा तल्लिन भएपछि उपाध्यक्ष सुवास नेम्वाङ दिक्दार भएर केही दिनअघि गृहजिल्ला इलामतिर लागे ।

उदाहरणका लागि एउटा घटना– मंसिर २३ गते बिहीबार । सुवास नेम्वाङले केही जरुरी विषयमा सल्लाह गर्न अध्यक्ष ओलीको समय मागेका थिए । निकै दिनदेखि उनले मागेको समय पाएनन् । तर, त्यसदिन दिउँसो गोकुल बाँस्कोटासहितको टोली १२ बजे बालकोटस्थित ओली निवासभित्र छिर्यो । दुई घण्टा लामो छलफलपछि २ बजे उक्त टोली बाहिरियो ।

त्यसपछि बोलाइएका महासचिव शंकर पोखरेललाई एउटा कागज जिम्मा लगाइएको थियो । त्यसमा पार्टी नेताहरुको मर्यादाक्रम तोकिएको थियो, जुन मर्यादाक्रममा सुवास नेम्वाङ उपाध्यक्षमध्ये अन्तिमबाट दोस्रोमा थिए ।

शंकर पोखरेलले सुवास नेम्वाङको मर्यादाक्रमबारे ओलीसँग कुरा गर्न चाहेका थिए । यो कुरा सुन्नासाथ ओलीले आफ्ना सहयोगीलाई सोधे, ‘प्रदीप ज्ञवाली कता हुनुहुन्छ ?’ अर्थात्, शंकर पोखरेलले आनाकानी गरे भने उपमहासचिव प्रदीप ज्ञवालीमार्फत मर्यादाक्रम सार्वजनिक गर्ने संकेत गरेपछि शंकर पोखरेल बालकोटबाट चूपचाप बाहिर निस्किनु परेको थियो ।

यसरी सुवास नेम्वाङ ‘न विद्रोह, न समन्वय’को स्थितिमा पुगेका छन् । काठमाडौंमा पीडा गुम्साएर बस्नुभन्दा गृह जिल्ला इलामतिर दुई–चार दिन हावा खान नेम्वाङ गए । तर, करिव–करिव सुवास नेम्वाङजत्तिकै अपमानित बनाइएका अर्का उपाध्यक्ष विष्णु पौडेल आन्तरिक समन्वयमा व्यस्त छन् ।

आगामी महाधिवेशनसम्म ७० वर्षे उमेरहद लागु हुँदा ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा (बादल), सुवास नेम्वाङहरू पार्टीबाट बिदा हुन्छन् । लामो समयदेखि पार्टीको संगठन विभाग, महासचिव र उपमहासचिवका रुपमा काम गरेका कारण संगठनभित्र विष्णु पौडेलले पकड जमाएकै छन् । त्यसमाथि १० बुँदेपक्षधर नेतामध्ये धेरैजसो विष्णु पौडेलसँगै निकट छन् । ओली गुटभित्रको एउटा तप्कामा उनको पकड भएको कारण ११औँ महाधिवेशनबाट अध्यक्ष हुने लाइन पौडेलले बनाएका छन् ।

यसरी विष्णु पौडेल ओलीसँग असन्तुष्ट हुने अवस्था विद्या भण्डारीबाट सिर्जना गरिएको एमाले स्रोत बताउँछ । हिजो संकटको बेलामा ओलीलाई साथ दिने विद्या भण्डारी, शंकर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकालहरू हुन् । विद्या भण्डारीले शंकरलाई अलिक पहिलादेखि नै आफ्नो आज्ञाकारीका रुपमा प्रयोग गर्दै आएकी हुन् । उनीहरुले विष्णु पौडेललाई ‘शक्तिका पछाडि दौडिने’ नेताका रुपमा बुझेका छन् । विष्णु पौडेलबारे ओलीपक्षीय एक नेता भन्छन्– ‘माओवादीसँगको एकताकालमा माओवादीसँगै ठिक्क, ओली र वामदेवको झगडा हुँदा वामदेवसँगै ठिक्क, माधव नेपाल र ओलीको सम्बन्ध बिग्रँदा माधवसँगै ठिक्क हुने नेताले कतिबेला धोका दिन्छ पत्तो हुँदैन ।’

अर्थात्, ओलीको प्रतिनिधिका रुपमा विभिन्न नेतासँग पुग्ने र त्यहाँ पुगेर आफ्नै दुनो सोझ्याउने काम विगतमा विष्णु पौडेलबाट भयो भन्ने ओलीलाई लागेको ती नेताले दृष्टिलाई बताए ।

यसरी विष्णु पौडेललाई साइड लगाउनुका पछाडि विद्या भण्डारीको पावर पोलिटिक्समा आउने आकांक्षा पूरा गर्नु नै रहेको एमाले नेताहरूको बुझाइ छ । त्यसैले मर्यादाक्रममा प्रदीप ज्ञवालीलाई पहिलो ठाउँमा राखियो । वरियतामा प्रदीप ज्ञवालीलाई पहिलो उपमहासचिव बनाउने कुरा त्यहीँको डिजाइनमा भएको बुझिन्छ ।

त्यसका लागि ओलीको रुचीका व्यक्ति विष्णु रिमाल र विद्या भण्डारीको तर्फबाट शंकर पोखरेल पार्टीभित्र हावी गराइएका छन् । विद्या भण्डारीको मान्छेलाई सबै कुरामा हावी हुन दिनुहुँदैन भनेर केपीले विष्णु रिमाललाई केन्द्रीय कार्यालयदेखि पार्टीको आर्थिक फाँटसम्ममा अगाडि सारेका हुन् । विद्याको रुचीमा अगाडि बढाइएका शेरबहादुर तामाङलाई कार्यालय सचिवबाट हटाएर डा. भिष्म अधिकारीलाई ल्याइएको हो ।

स्मरणीय छ, शेरबहादुर तामाङ पत्नी उषाकला राईको जबरजस्तीले ओलीतिर गएका थिए । उनी गत वर्ष पुस ५ को संसद विघटनपछि माधव नेपाल पक्षमा थिए । तर, पत्नी उषाकलालाई प्रदेश १ को मन्त्री बन्ने शर्तमा पतिलाई ओलीतिर खुलाउनुपर्ने थियो । सोही शर्तबमोजिम ओलीतिर लागेको यो दम्पत्ति अहिले पनि शितलनिवासकै भागमा परेका छिन् । शेरबहादुर आफूलाई कार्यालय सचिवबाट किन हटाइयो भनी ओलीलाई सोध्न बालकोट पुग्दा ओलीको जवाफ थियो, ‘उतै सोध्नु ।’

ओलीको प्रतिगमन विरोधी धारबाट १०बुँदे सहमतिका नाममा एमालेमै फर्किएका नेताहरू अहिले ‘पर्ख र हेर’ को स्थितिमा छन् । तीमध्ये दुईजनाले विद्या भण्डारीको निर्देशनअनुसार काम गरिरहेका छन् । बाँकी नेताहरू कतैतिर खुलेर लागेका छैनन् । त्यसमाथि उनीहरू एक आपसमा समन्वयात्मक हुन सकेका छैनन् । अर्थात्, जसले जसलाई च्याप्दा–बोक्दा फाइदा हुन्छ, उनीहरू त्यही गर्दैछन् ।

भीम रावल र घनश्याम भुसाल कसैको नजिक रहेनन् । युवराज, अष्टलक्ष्मी, सुरेन्द्रहरू विष्णु पौडेलनिकट छन् । योगेश भट्टराई र गोकर्ण विष्ट शंकर पोखरेलनिकट भएका छन् । लालबाबु पण्डित, टंक कार्कीसहितका बाँकी १०बुँदे पक्षधरहरू ओलीले ७० वर्ष लागेर अवकास लिएपछि एमालेमा ओलीयुग समाप्त हुन्छ र स्वतन्त्र निर्वाचन भयो भने शक्तिमा आउन सकिन्छ भन्ने कुराको कल्पना गर्दै बसिरहेका छन् । उनीहरू मर्यादाक्रममा तल पारिँदा पनि सहेर बस्नुपर्ने अवस्थामा छन् । किनभने, विद्रोह गर्ने आँट उनीहरूसँग भएन ।

अर्कातिर, पूर्वमालेहरूले घनश्याम भुसाललाई शंकर पोखरेलसँग मिलाउन खोज्दैछन् । त्यसका लागि तुलसीपुर नगरपालिकाका मेयर तथा पार्टी केन्द्रीय सदस्य घनश्याम पाण्डेहरू निक्कै लागिरहेका छन् । भुसालले शंकरलाई नेता माने भने शंकरले अर्कोपालि भुसाललाई वरिष्ठ उपाध्यक्ष बनाएर आफू अध्यक्षमा जाने योजना बनाएका छन् । र, यो कुरामा भुसाललाई सहमत गराउने प्रयास भइरहेको छ ।

एमालेमै रहेका पूर्वमाओवादीहरूको अवस्था १० बुँदेहरूको भन्दा फरक छ । उनीहरूको रणनीति छ, ‘अहिलेलाई ओलीले दिएको लिएर चित्त बुझाउने, विस्तारै विस्तारै संगठनमा पकड बनाएर एकातिर लाग्ने ।’ यसका लागि उनीहरूले विष्णु पौडेल बढी अनुकूल हुने ठहर गरेका छन् । तर, अहिले नै विष्णु पौडेलसँग निकट हुँदा ओलीबाट पेलिनुपर्ने भएकाले तै चुप मै चुपको अवस्था छन् । तर, समय आएको खण्डमा विष्णु पौडेलको एमालेमा पल्लाभारी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्